बेलायतमा २४ घन्टाभित्र जोनसन सरकारका ४० जना बढीले दिए राजीनामा
बेलायतमा २४ घन्टाभित्र जोनसन सरकारका ४० जना बढीले दिए राजीनामा

उनको कन्जरभेटिभ्स पार्टीभित्र र बाहिरबाट जोनसनको राजीनामा माग गरिएको छ।

    • बेल संचार

    • २३ असार २०७९, बिहीबार

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा रहेका विभिन्न मन्त्रीहरूले धमाधम राजीनामा दिन थालेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार बुधबारसम्म अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका छन्।

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन्।

आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ।

उनको कन्जरभेटिभ्स पार्टीभित्र र बाहिरबाट जोनसनको राजीनामा माग गरिएको छ।

द गार्डियनका अनुसार जोनसन भने जस्तोसुकै परिस्थिति आए पनि अन्तिमसम्म लड्ने रणनीतिमा छन्। गृहमन्त्री प्रिती पटेललगायतले उनलाई अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जोनसन त्यसका लागि तयार भएका छैनन्।

दुई वर्षअघि भएको चुनावमा लाखौं मतदाताले आफूलाई विश्वास गरेको उल्लेख गर्दै जोनसनले लुसुक्क सत्ता नछोड्ने बताएका छन्।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए। कोरोनाभाइरसको महामारी सुरू भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो। उक्त विषयले बेलायती राजनीतिमा तरंग ल्याएको थियो र छानबिन पनि भएको थियो।

साताकाे चर्चित
सम्बन्धित