रोनाल्डो म्यानचेस्टर युनाइटेडको पहिलो चरणको प्रि-सिजन भ्रमणमा नजाने
रोनाल्डो म्यानचेस्टर युनाइटेडको पहिलो चरणको प्रि-सिजन भ्रमणमा नजाने

तर क्लबका लागि गत सिजनको नतिजा अपेक्षाकृत थिएन।

    • बेल संचार

    • २४ असार २०७९, शुक्रबार

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको पहिलो चरणको प्रि-सिजन भ्रमणका लागि थाइल्यान्ड नजाने भएका छन्।

शुक्रबार थाइल्यान्ड प्रस्थान गर्न लागेको युनाइटेडको भ्रमण टोलीमा रोनाल्डो समावेश हुनेछैनन्। उनले पारिवारिक कारण देखाउँदै भ्रमण नगर्ने बीबीसीले लेखेको छ।

यसअघि रोनाल्डोले सिजनमा क्लब छाड्ने चाहना राखेका थिए। उनको चाहनामा युनाइटेड सकारात्मक छैन।

म्यानचेस्टर युनाइटेडले थाइल्यान्डपछि अस्ट्रेलिया भ्रमण गर्दा उनी टिममा हुने पक्का अझै भइसकेको छैन।

३७ वर्षीय रोनाल्डोले राम्रो विकल्प पाए सिजनमै युनाइटेड छाड्न चाहेका छन्।

रोनाल्डो गत वर्ष इटालियन क्लब युभेन्टसबाट युनाइटेड फर्किएका थिए।

उनी गत सिजन युनाइटेडको सर्वाधिक गोलकर्ता थिए भने प्रिमियर लिगको उच्च गोलकर्ताको सूचीमा तेस्रो स्थानमा थिए।

तर क्लबका लागि गत सिजनको नतिजा अपेक्षाकृत थिएन।

युनाइटेडले प्रिमियर लिगमा छैटौं स्थानमा रहँदा च्याम्पियन्स लिगको छनोट गुमाएको थियो।

रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष बाँकी छ।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि रोनाल्डोले पहिलो पटक युरोपा लिग खेल्दैछन्।

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डो आफ्नो करियर अझ उचाइमा पुर्‍याउन आकर्षक विकल्पहरू खोजिरहेका छन्।

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डो पछिल्लो समय चिन्तित छन्। उनी युनाइटेडलाई सम्मान गर्छन् तर आफ्नो करिअर अन्तिम चरणमा प्रवेश गर्दा ठूलो पुरस्कारको लागि प्रतिस्पर्धा गर्न चाहन्छन्।

यता युनाइटेडले रोनाल्डोलाई बिक्री गर्ने खेलाडीको रुपमा हेर्दैन।

नयाँ  प्रशिक्षक एरिक टेन ह्यागका आएपछि युनाइटेडका धेरै समस्या समाधान हुने विश्वास गरिएको छ।

रोनाल्डोले गत सिजन युनाइटेडको कप्तानी ह्यारी म्यागुइरसँग झगडा गरेका थिए।

टेन ह्यागले रोनाल्डोसँग काम गर्न आफू उत्सुक रहेको बताए पनि रोनाल्डोको खेल्ने शैली उनको प्रणालीसँग कसरी मिल्छ भन्ने स्पष्ट छैन।

साताकाे चर्चित
सम्बन्धित