श्रीलंकाको राष्ट्रपति निवासमा के-के गरे प्रदर्शनकारीले?
श्रीलंकाको राष्ट्रपति निवासमा के-के गरे प्रदर्शनकारीले?

हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए। उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन। 

    • बेल संचार

    • २६ असार २०७९, आईतवार

आर्थिक संकटमा फसेको टापु मुलुक श्रीलंकामा शनिबार प्रदर्शनकारीहरू राष्ट्रपति निवासभित्र छिरेका छन्। महिनौंदेखि राष्ट्रपति गोटवाया राजापाक्षे सरकारविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन्।

हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए। उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन।

प्रदर्शनकारीहरू भने आइतबार पनि राष्ट्रपति निवासमा पुगेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूमध्ये केहीले आइतबार दिउँसोको खानामा पनि त्यहीँ खाएका छन्।

चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरूले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरू त्यहाँभित्रको सुविधाको उपभोग गरेको देखिन्छ भने अर्कातिर उनीहरूले हास्यास्पद क्रियाकलाप पनि गरेका छन्।

जसका रोचक तस्बिर तथा भिडिओहरू बाहिर आएका छन्।

प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गरेको केहीबेरमै केही तस्बिरहरू बाहिरिए। जसमा उनीहरू स्विमिङ पुलमा  पौडी खेलिरहेका देख्न सकिन्छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन भित्रको भान्सा पनि प्रवेश गरे। आफैंले खाजा पकाएर खाए। केहीले जिम पनि गरे, कतिपयले बाथरूममा गएर नुहाए पनि।

केही प्रदर्शनकारीहरू भने लम्पसार सुतेर टेलिभिजनमा समाचार हेरिरहेको भिडिओ र तस्बिर पनि सार्वजनिक भएका छन्।

एक प्रदर्शनकारीले भनेका छन्,‘राष्ट्रपतिज्यू, धन्यवाद! म तपाईंको खाटमा सुतिरहेको छु, यो निक्कै आरामदायी छ।’

त्यसैगरी राष्ट्रपति भवनमा भएका बेडमा सुत्नेदेखि रेस्लिङसमेत खेलेको पनि देखिएको छ। प्रदर्शनकारीहरूले बंकरमा प्रवेश गर्ने सिक्रेट ढोकासमेत पत्ता लगाएर भित्र प्रवेश गर्न भ्याएका छन्।

यस्तै उनीहरूले पियानो बजाएर नाचगान गरिरहेको समेत देखिन्छ।

भवनभित्र एक जना गोरा मानिसलाई लिएर इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ) सँग श्रीलंका सरकारले गरिरहेको वार्ताको नक्कल गरिएको छ।

श्रीलंकाली राष्ट्रपति राजापाक्षे आउने बुधबार राजीनामा दिने सहमत भएका छन्। उनी अहिले कहाँ छन् भन्ने खुलाइएको छैन।  न्युजवायरका अनुसार आइतबार बिहान राष्ट्रपतिको सचिवालयले एउटा विज्ञप्ति जारी गर्दै ग्यास सिलिन्डर वितरणलाई बढाउन अधिकारीहरूलाई निर्देशन दिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित