व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण
व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण
    • Bell Sanchar

    • २८ असार २०७९, मंगलवार

दमौली, २८ असार 
तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गर्नुभयो । व्यास–१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकम्बासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जीनियर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । निस्सा लिन नआएकाहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत वितरण गरिने उहाँले बताउनुभयो ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दाबी–विरोधस्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने ई मूलले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब १० हजार जना रहेको नगरपालिकाले जनाएको छ ।

व्यास नगरप्रमुख न्यौपानेले भूमिहीनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले निस्साकै आधारमा अब जग्गा नापजाँचको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहहरूले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण सुरु गरेका छन् । केही दिन अगाडिमात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपुर्जाको निस्सा वितरण गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ तथा देवघाट गाउँपालिकाले वडा नं ५ मा निस्सा वितरण गरेको छ ।

विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरूलाई नापनक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

वडा नं १ का ९५ र वडा नं २ का ९९ जनालाई निस्सा बाँडिएको छ । गाउँपालिकाले ६ वटै वडाका ८८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले भूमिहीनले लालपुर्जा पाउने अध्यक्ष चुमानले बताउनुभयो ।

देवघाट गाउँपालिकाले वडा नं ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।

यसअगाडि शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन् । शुक्लागण्डकीले पहिलो चरणमा २४७ जनालाई निस्सा वितरण गरिएको छ । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिकाले छवटै वडाका ३२५ जनालाई निस्सा वितरण गरिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित