तनहुँ,
दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले जानकारी दिनुभयो ।
दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य रोग भएकोले एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएकोले सुरक्षित हुन होम आइसोलेशनमा बस्ने र खानपानमा ध्यान दिन सुझाव दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“पानी उमालेर खान र आराम गर्न सुझाब दिइएको छ ।” टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकोले सफा खाने पानी पिउन र स्वास्थ्यकर खाना खाना आग्रह गरेको उहाँले बताउनुभयो ।—