नेपाली कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटघाट गरेको छ।
चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका जियानचाओसँगको भेटघाट कार्यक्रममा कांग्रेसले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामबारे छलफल गरेको कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
उनका अनुसार कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसँग निम्न विषयहरूमा चर्चा गरिएको हो-
१. नेपाली कांग्रेस, नेपाल-चीनबीचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल-चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्याएका योगदानप्रति गौरव र स्मरण गर्छ।
२. नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ। नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरूद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत छ।
३. नेपाल कांग्रेस चीन लगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबीच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस् भन्ने अपेक्षा पनि गर्छ। तर शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनु हुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ।
५. यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकाले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्छ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको द बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्छ। साथै चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ।
६. नेपाली कांग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पूरानो, र परिपक्व राजनीतिक शक्ति हो। अतः चीनप्रतिको नेपाली कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन। नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ। नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्र राष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिनेछ।
साथै निकटतम छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाइ नेपाली कांग्रेसको हो।
७. चीनको, नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैं समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्ने अपेक्षा र विश्वास राख्छ।