विषयगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर
    • Bell Sanchar

    • ३० असार २०७९, बिहीबार

१. सार्वजनिक निकायमा खरिद कार्यको अनुगमनसम्बन्धी भएको व्यवस्थाबारे चर्चा गर्नुहोस् । 

 सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाई सुशासनको प्रत्याभूति गर्न तर्जुमा गरिएको सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीको नेतृत्वमा एक सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था गरी उक्त कार्यालयको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ः

सार्वजनिक खरिदसम्बन्धी नीति तथा कानुनमा सुधार गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,

सार्वजनिक खरिद विधिका विषयमा आवश्यक पर्ने निर्देशिका, कार्यविधि र प्राविधिक मार्गदर्शन जारी गर्ने,

सार्वजनिक निकायले खरिद कार्यमा प्रयोग गर्नुपर्ने कागजातको नमुना तयार गर्ने,

सार्वजनिक निकायबाट हुने खरिद कार्यको तथ्याङ्क सङ्कलन गर्ने, त्यस्तो खरिद कार्य प्रचलित ऐन, नियम, निर्देशिका अनरूप भए नभएको अनुगमन गर्ने, परीक्षण गर्ने, गराउने,

खरिदपश्चात्को पुनरवलोकन गर्ने, गराउने,

निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता तथा सेवा प्रदायकको खरिदसम्बन्धी योग्यता र अनुभवको अभिलेख तयार गर्ने,

विद्युतीय खरिद निर्देशिका जारी गर्ने,

सार्वजनिक निकायले खरिद सम्बन्धमा राय परामर्श माग गरेमा राय परामर्श दिने,

खरिदसम्बन्धी वेभसाइट स्थापना गरी त्यसको सञ्चालन गर्ने,

खरिद कार्यमा संलग्न भएका लागि नियमित प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने,

कालो सूचीबाट फुकुवा मापदण्ड तयार गर्ने र सोअनुसार कालोसूचीबाट फुकुवा गर्ने,

खरिद विज्ञ प्रमाणीकरण गर्ने, गराउने,

खरिद कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्ने ।

२. नेपालमा सामाजिक द्वन्द्वका कारण, त्यसको प्रभाव र द्वन्द्व व्यवस्थापनका उपायहरू उल्लेख गर्नुहोस् । 

 नेपाली समाजमा खासगरी व्यक्ति व्यक्तिबीच द्वन्द्व, परिवारमा द्वन्द्व, समुदाय समुदायमा द्वन्द्व, राजनीतिक पार्टीबीच द्वन्द्व, यातायात बन्द, नेपाल बन्द, छुवाछूत भेदभाव आदि जस्ता द्वन्द्व देखिएको पाइन्छ । नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्वका कारण विभिन्न छन्, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः

गरिबी बढ्नु,

आर्थिक असमानता देखिनु,

सामाजिक संस्कारको पालनाको अभाव,

मादक पदार्थको सेवन,

सामाजिक न्यायको अभाव,

शिक्षाको कमी, चेतनाको कमी,

एकले अर्कोलाई विश्वास नगर्नु, सम्मान नगर्नु ।

सामाजिक द्वन्द्वको प्रभाव

सामाजिक द्वन्द्वले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । यसको प्रभाव निम्न हुन्छ ः

सकारात्मक प्रभाव

सामाजिक रूपान्तरण गर्न मद्दत पुग्ने,

समाजमा चेतनामा अभिवृद्धि हुने,

सामाजिक न्यायको प्रवद्र्धन हुने,

सामाजिक एकता, सदभाव बढ्ने,

नकारात्मक प्रभाव

समाजमा शान्ति व्यवस्थामा खलल पुग्ने,

चोरी, हत्या, अपहरणका घटना बढ्न जाने,

सामाजिक मूल्य मान्यतामा ह्रास आउने,

समाजमा कुसंस्कारको जन्म हुने ।

द्वन्द्व व्यवस्थापनका उपायहरू

सामाजिक द्वन्द्व समाजको रोग मात्र होइन, यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले सामाजिक द्वन्द्वलाई विनाशले होइन, सिर्जनाले अन्त्य गरिनु पर्दछ । सामाजिक द्वन्द्व समाधान गर्न सर्वप्रथम द्वन्द्वको पहिचान गरी सोअनरूपका उपाय अवलम्बन गर्नुपर्दछ । समाजमा एकले अर्कोलाई सम्मान गर्नुपर्दछ, एकापसमा विश्वास गर्नुपर्दछ । सञ्चार र समन्वयको कार्यलाई प्रभावकारी बनाउनु पर्दछ । यसबाट द्वन्द्वको केही मात्रामा समाधान हुनसक्छ । अरू उपायहरू निम्न छन् ः

चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने,

सहमति र सहकार्यको बाटो अवलम्बन गर्ने,

नीति, योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता गराउने,

उपलब्ध साधन स्रोतको न्यायोचित वितरण गर्ने,

रोजगारीका कार्यक्रम सिर्जना गर्ने,

वर्गीय, जातीय एवं लैङ्गिक शोषणको अन्त्य गर्ने,

सामाजिक विभेद एवं असमानता हटाउने,

लक्षित कार्यक्रम तयार गरी गरिबी निवारण गर्ने,

उत्पादन वृद्धि गर्ने तथा वितरण प्रणालीमा सुधार गरी बेरोजगारीको समस्या समाधान गर्ने ।

३. ‘खुला मलमूत्र त्याग र सरसफाइको कमी नेपालको प्रमुख सामुदायिक स्वास्थ्य समस्या हुन् ।’ यस भनाइलार्ई पुष्टि गर्नुहोस् ।

 सामुदायिक स्वास्थ्य मूलतः व्यक्तिगत स्वास्थ्य तथा समग्र वातावरणीय स्वास्थ्यसँग सम्बन्धित छ । नेपालको स्वास्थ्य समस्यामा समग्रमा एक रूपता भए पनि स्वास्थ्य समस्या समुदायपिच्छे फरकफरक पनि भएको पाइन्छ । खुला मलमूत्र त्याग, सरसफाइको कमी, सरुवा रोगको व्यापकता, कुपोषण, शिशु मृत्युदर, मातृ मृत्युदर, स्वास्थ्य शिक्षाको कमी, स्वास्थ्य सेवाको कमी, अस्वस्थकर जीवनशैली आदि नेपालका सामुदायिक स्वास्थ्य समस्या हुन् । उपरोक्त सामुदायिक स्वास्थ्य समस्यामध्ये खुला मलमूत्र त्याग र सरसफाइको कमी नेपालको प्रमुख स्वास्थ्य समस्या हुन् । किन कि नेपालमा गरिबी एवं चेतनाको कमीले पिछडिएका कतिपय पहाडी र तराईका जिल्लामा प्रत्येक घर घरमा चर्पी नहँुदा वा भएको चर्पीको पनि सही सदुपयोग गर्न नजान्दा खुला दिसायुक्त वातावरण भएको अवस्था विद्यमान छ । खुला मलमूत्रमा बसेको झिँगाले सङ्क्रमण रोग फैलाउँछ, वातावरण दूषित बनाउँछ ।  सरसफाइको कमी हँुदा त्यसले ठूलो रूप लिन्छ । अज्ञानता, अशिक्षा, आर्थिक समस्याजस्ता कारणले घरघरमा चर्पीको प्रयोग नहुँदा नेपालमा खुला मलमूत्र त्याग एक जल्दोबल्दो सामुदायिक स्वास्थ्य समस्याका रूपमा स्थापित भएको छ । त्यसैगरी व्यक्तिगत सरसफाइ, घर वरिपिरको सरसफाइको कमी हुँदा विभिन्न रोग लाग्ने हुन्छ । खुला मलमूत्र, त्यसमा लाग्ने झिँगा, घरमा स–साना बालबच्चा, हात धुने बानीको अभाव, खानेकुराको समस्या र सरसफाइको कमी भएका कारणले नेपालका दुर्गम गाउँमा शिशु मृत्युदर बढी छ । स्वास्थ्य नै धन हो भन्ने कुराको चेतना नभएको अवस्था छ । नेपालको हिमाल, पहाड र तराईमध्ये कतिपय ठाउँमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि पिछडिएका पहाडी र तराईका जिल्लामा खुलेआम दिसा गर्ने गरेको पाइन्छ । हावापानी, मौसम र वातावरणले हिमाल र पहाडमा रोगव्याधीमा केही कमी भएको पाइन्छ भने तराईका जिल्लामा यसको प्रकोप बढी भएको पाइन्छ । प्रत्येक घरमा चर्पी बनाउनु पर्ने अनिवार्यता र सरसफाइमा चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनु पर्दछ । हिमाल, पहाड र तराईका पछाडि परेका केही निश्चित जिल्लामा लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरी देखिएका सामुदायिक स्वास्थ्य समस्याको समाधान गर्नुपर्दछ ।

४. फाइलिङको उद्देश्य के हो ? फाइल राख्ने तरिकाहरू के के हुन् ? लेख्नुहोस् । 

 भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजपत्र फाइलमा सुरक्षित राख्नु फाइलिङको प्रमुख उद्देश्य हो । फाइलिङका अरू उद्देश्य निम्न छन् ः

आवश्यक परेको समयमा प्रमाणका रूपमा कागजात जुटाउनु,

कार्यहरूलाई दोहोरो हुन नदिनु,

एक अर्कामा तुलना गर्न सहयोग गर्नु,

कार्यालयमा सूचना एवं प्रतिवेदन सजिलै उपलब्ध गराउनु,

अनुगमन र मूल्याङ्कनको कार्यमा सहयोग गर्नु ।

फाइल राख्ने तरिकाहरू

कागजातहरू सुरक्षित हुने गरी फाइलमा मिलाएर राख्ने कार्य फाइलिङ हो । फाइलिङ विभिन्न तरिकाले राख्न सकिन्छ । तार फाइलिङ, बाकस फाइलिङ, धरातलीय फाइलिङ, ठाडो फाइलिङ आदि तरिकाले पनि कागजपत्र फाइलमा सुरक्षित राख्न सकिन्छ । सामान्यतयाः फाइल निम्न तरिका अवलम्बन गरी राखिन्छ ः

क. वर्णानुक्रम फाइलिङ

यसमा फाइलको नाम नेपाली वर्णमाला क, ख, ग वा अङ्ग्रेजी ब् द्य ऋ को क्रममा राखिन्छ । जस्तै ः कृषि सामग्री कम्पनी लि. ‘क’ बाट, खाद्य संस्थान ‘ख’ बाट ।

ख. सङ्ख्यात्मक फाइलिङ

यसमा फाइलमा १,२,३ सङ्ख्या लेखेर कागजपत्र मिलाएर राखिन्छ । सङ्केत कार्ड सोअनुसार तयार गर्नुपर्दछ ।

ग. विषयगत फाइलिङ

यसमा कागजपत्रको विषयअनुसार फाइल बनाएर राखिन्छ । जस्तैः कम्प्युटरसम्बन्धी कागजपत्र कम्प्युटर नामको फाइल खडा गरेर राखिन्छ ।

घ. भौगोलिक फाइलिङ

यसमा भौगोलिक क्षेत्रअनुसार फाइल खडा गरिन्छ । प्रदेश, जिल्ला, पालिका, वडा आदिको नाम लेखेर फाइल तयार गरिन्छ ।

५. समावेशीकरणका मूल उद्देश्यहरू के के हुन् ?

 महिला, दलित, गरिब वा पछाडि परेका समुदायलाई निर्णय गर्ने एवं कार्यसम्पादन गर्ने प्रक्रियामा सहभागी गराउने कार्य समावेशीकरण हो । यसका मूल उद्देश्यहरू निम्न छन् ः

विकास प्रक्रियामा पिछडिएका वर्गको सहभागिता बढाएर विकासमा उनीहरूको अपनत्व वृद्धि गर्नु,

समाजमा सामाजिक न्याय कायम गर्नु,

राष्ट्रिय एकता र अखण्डतालाई थप बलियो बनाउनु,

नीति निर्माण एवं निर्णय गर्ने तहमा पिछडिएका वर्गको सहभागिता बढाउनु,

मुलुकमा सुशासन कायम गर्न मद्दत गर्नु,

राज्य सञ्चालनका अङ्गमा लक्षित वर्गको सहभागिता बढाएर उनीहरूको उत्थान गर्नु ।

६. निजामती कर्मचारीलाई प्रदान गरिने पुरस्कार सिफारिस गर्ने समितिमा को को हुने व्यवस्था छ ?

 निजामती सेवा नियमावली, २०५० मा निजामती कर्मचारीलाई प्रदान गरिने पुरस्कार सिफारिस गर्ने समितिमा निम्न पदाधिकारी रहने व्यवस्था छ ः

क. नेपाल सरकारको मुख्य सचिव   –अध्यक्ष

ख. कानुन तथा न्याय मन्त्रालयको सचिव  –सदस्य

ग. नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव  –सदस्य

घ. विशिष्ट श्रेणीबाट सेवा निवृत्त कर्मचारीमध्ये नेपाल सरकारले तोकेको व्यक्ति  –सदस्य

ङ. सामान्य प्रशासन मन्त्रालयको सचिव   –सदस्य सचिव

७. नागरिक समाजका दायित्व के के हुन् ? उल्लेख गर्नुहोस् । 

 सरकारभन्दा बाहिर रहने गैरराजनीतिक, गैर मुनाफामुखी स्वयंसेवी संस्था नागरिक समाज हो । सरकारको नागरिकप्रति जुन दायित्व रहन्छ, त्यस्तै दायित्व नागरिक समाजको नहुन सक्छ किनकि नागरिक समाज सरकारमा नरहने संस्था हो तर पनि मुलुकको हितका लागि नागरिक समाजको निश्चित दायित्व हुने गर्दछ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः

नागरिकका हक अधिकार सुनिश्चित गर्ने,

लोकतान्त्रिक पद्धतिको विकासमा आवश्यक भूमिका निर्वाह गर्ने,

सरकारलाई जनताप्रति उत्तरदायी बनाउने,

व्यक्तिगत, संस्थागत एवं दलगत स्वार्थभन्दा माथि उठेर विशेष गरी पिछडिएको वर्ग, क्षेत्र, लिङ्गहरू बारे बुलन्द आवाज उठाउने,

राजनीतिक हस्तक्षेपमा नपरी भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने,

सहर केन्द्रित मात्र नभएर ग्रामीण केन्द्रित समेत भई सशक्त रूपमा देश विकासमा सहयोग गर्ने,

सरकारलाई जनताको अवस्था र जनतालाई सरकारको गतिविधिको बारेमा जानकारी दिने सूचना केन्द्रको रूपमा कार्य गर्ने,

मुलुकमा आर्थिक अनुशासन, शान्ति सुरक्षा, कानुनको पालना, सुशासन कायम गर्न महìवपूर्ण भूमिका निर्वाह गर्ने,

राजनीतिबाट सदैव अलग र तटस्थ रहेर निष्पक्ष रूपमा जनहितका कार्य गर्ने ।

८. बसाइँसराइले सामाजिक आर्थिक क्षेत्रमा पार्ने नकारात्मक असरहरू उल्लेख गर्नुहोस् । 

 मानिस आफू बसेको गाउँ, ठाउँ वा देश छोडेर अर्को गाउँ, ठाउँ वा देशमा सर्ने कार्य बसाइँसराइ हो । बसाइँसराइ स्थानान्तरण हो । मानिसहरू रोजगारी, शिक्षा, स्वास्थ्य, पेसा, व्यवसाय तथा अन्य विविध सुविधा प्राप्तिका लागि बसाइँसराइ गर्दछन् । हिमाल तथा पहाडबाट तराईतर्फ जाने, गाउँबाट सहरतर्फ जाने, रोजगारीका लागि नेपाली युवा विदेशतर्फ जाने अनि नेपालका सहर बजारमा विदेशी व्यक्ति खासगरी भारतका धन तथा सीप प्राप्त मानिस सिकर्मी, डकर्मी, मिस्त्री, हजामजस्ता कार्यमा नेपाल आउनु नेपालको बसाइँसराइको मौलिक चरित्र नै हो । यस प्रक्रियाबाट जनसङ्ख्याको वितरणमा परिवर्तन आई मुलुकको समग्र विकासमा प्रतिकूल प्रभाव परेको पाइन्छ । समग्रमा बसाइँसराइले सामाजिक आर्थिक क्षेत्रमा पार्ने नकारात्मक असरहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

सहरी सुविधा तथा वैदेशिक रोजगारीले गर्दा कार्यक्षमता भएका जाँगरिला युवा जनशक्ति पहाडी क्षेत्रले गुमाएको,

पहाडी क्षेत्रमा बाली रोप्ने, काट्ने तथा भिœयाउने कार्यमा श्रमिकको कमी, कृषि उत्पादनमा ह्रास, खेतीयोग्य खेतबारी बाँझो, खाद्यान्न सङ्कट,

वैदेशिक रोेजगारीमा श्रीमान् विदेश, केटाकेटी पढाउन श्रीमती सहर बजारमा, गाउँमा वृद्ध बूढाबूढी, विद्यार्थीको अभावमा गाउँका विद्यालय समस्यामा, स्वास्थ्य चौकीमा बिरामी लाने तथा मरेको मान्छे घाटमा लाने व्यक्तिको समेत गाउँमा अभाव,

सहर तथा तराई क्षेत्रमा जग्गा र रोजगारको माग बढ्दो, घरजग्गाको मूल्यमा वृद्धि, भूमिहीनको सङ्ख्यामा बढोत्तरी, सुकुम्बासी समस्या सिर्जना, खोला नदी किनार तथा खाली पर्ती जग्गा अतिक्रमण गरी नयाँ बस्तीको विकास, योजनाविहीन आवास क्षेत्रको विस्तारले सुरक्षा तथा फोहोरमैलामा समस्या,

नेपालमा भित्रिएका खासगरी भारतीय आप्रवासीहरूको उद्योग तथा व्यापार क्षेत्रमा एकाधिकार बढ्न थालेको, कमाएको धनसम्पत्ति आफ्नो देशमा पठाउने हुँदा अर्थतन्त्रमा प्रतिकूल प्रभाव ।

९. नेपालको बजेट तर्जुमा प्रक्रियाबारे चर्चा गर्नुहोस् ।

 सरकारको आय र व्ययको अनुमानित विवरण सरकारी बजेट हो । नेपालमा बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था छ । बजेट तर्जुमामा संवैधानिक व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, नियम छ । बजेट तर्जुमा दिग्दर्शन लागू गरिएको छ । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालय बजेट तर्जुमा प्रक्रियामा क्रियाशील छन् । नेपालको बजेट तर्जुमा प्रक्रिया निम्नानुसार रहेको पाइन्छ ः

(क) व्ययको अनुमान÷खर्च अनुमान

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसँग समन्वय गरी बजेट सीमाको प्रारम्भिक अनुमान तयार गरी स्रोत समिति र बजेट समितिमा पेस गर्दछ ।

अर्थ मन्त्रालयले बजेट तर्जुमा फाराम तथा बजेट मार्गदर्शन सबै मन्त्रालय तथा निकायमा पठाउँछ, प्रत्येक मन्त्रालय तथा निकायले तोकिएको सीमा तथा मार्गदर्शनबमोजिम आफ्नो तथा मातहत निकायको बजेट तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउँछन् ।

चालु खर्च सम्बद्ध मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल गरी टुङ्गोमा पुगिन्छ ।

पुँजीगत खर्च सम्बद्ध मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच छलफल गरी टुङ्गोमा पुगिन्छ ।

सरकारले गर्ने सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यको खर्च अनुमान गरी कुल जम्मा व्ययको अनुमान गरिन्छ ।

(ख) आयको अनुमान

सरकारले गर्ने कुल खर्च बेहोर्नका लागि राजस्वको अनुमान गरिन्छ । राजस्वले नपुग्ने भएपछि वैदेशिक अनुदान र ऋण तथा आन्तरिक ऋणको अनुमान गरी कुल जम्मा आयको अनुमान गरिन्छ ।

(ग) बजेटको मस्यौदा तयारी

सरकारी व्यय र आयको अनुमानपश्चात् अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयारी गर्दछ र त्यसलाई अन्तिम रूप दिन्छ । उक्त मस्यौदा बजेटलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराइन्छ ।

(घ) संसद्मा बजेट प्रस्तुत, छलफल र पारित

मन्त्रिपरिषद्बाट स्वीकृत उक्त बजेट आय व्ययसँग सम्बन्धित विधेयकसहित संवैधानिक आय व्ययको प्रावधानअनुरूप अर्थमन्त्रीले ज्येष्ठ १५ गते संसद्मा बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । संसद्मा बजेट सार्वजनिक पछि बजेटमाथि छलफलको प्रक्रिया सुरु हुन्छ । संसद्मा बजेटमाथि छलफल भई मतदान हुन्छ । कुल सदस्य सङ्ख्याको सामान्य बहुमतबाट बजेट पारित गर्ने व्यवस्था छ ।

(ङ) बजेट कार्यान्वयन

बजेटसम्बन्धी ऐनहरू जारी भएपछि अर्थ सचिवले सम्बन्धित मन्त्रालयका सचिवलाई, सम्बन्धित मन्त्रालयका सचिवले सम्बन्धित विभागीय प्रमुखलाई, सम्बन्धित विभागीय प्रमुखले सम्बन्धित कार्यालय प्रमुखलाई बजेट खर्च गर्ने अख्तियारी पठाउने व्यवस्था छ । आर्थिक कार्यविधि ऐन, नियमअनुसार बजेट खर्च गरी सोको व्यवस्थित लेखाङ्कन तथा प्रतिवेदन गर्नुपर्ने व्यवस्था छ ।

(च) बजेट अनुगमन र मूल्याङ्कन

सम्बन्धित मन्त्रालयले प्रत्येक महिना आफूसँग सम्बन्धित बजेट कार्यक्रमको प्रगति समीक्षा गर्ने व्यवस्था छ ।

प्रत्येक २ महिनामा अर्थ मन्त्रालयमा अर्थमन्त्रीको अध्यक्षतामा सबै मन्त्रालयका सचिवको बैठक बस्ने व्यवस्था छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक र वार्षिक मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगले विकास आयोजनाको अनुगमन र मूल्याङ्कन गरी आफ्नो समग्र कार्य प्रगतिको वार्षिक प्रतिवेदन तयार नेपाल सरकारसमक्ष पेस गर्ने व्यवस्था छ ।

सरकारी आय र व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुने, महालेखापरीक्षकले तयार गरेको वार्षिक प्रतिवेदन संसद्मा छलफलमा हुने र छलफलबाट प्राप्त सुझावलाई आगामी वर्षको बजेट तर्जुमाका लागि पृष्ठपोषणका रूपमा लिइने व्यवस्था छ ।

१०. नेपालको भौगोलिक विविधता र जनजीवनमा त्यसको प्रभावबारे सङ्क्षिप्त टिप्पणी लेख्नुहोस् । 

 हिमाल, पहाड र तराई गरी तीन प्राकृतिक प्रदेशमा रहेको नेपालको भौगोलिक विविधताले जनजीवनमा सकारात्मक तथा नकारात्मक प्रभाव पारेको पाइन्छ । यसले मानिसको जीवनशैलीमा निकै ठूलो भिन्नता ल्याएको पाइन्छ । हिमाली क्षेत्र निकै उच्च, विकट, ठन्डा र सुक्खा छ, त्यसैले जनजीवन कष्टकर छ, जनघनत्व कम छ । खेतीपाती कम हुने हुँदा त्यहाँका मानिसहरू केही सीमित खाद्यबाली र नगदेबालीको उत्पादनका अतिरिक्त पशुपालन, जडीबुटी सङ्कलन, पर्यटन एवं व्यापार व्यवसायजस्ता क्रियाकलापमा संलग्न छन् । नेपालको पहाडी प्रदेश हिमाली प्रदेशभन्दा केही सहज र समृद्ध छ । हावापानी अनुकूल छ, जनघनत्व केही उच्च छ । कृषि उत्पादनका लागि उपयुक्त छ । धान, मकै, फलफूल, पशुपालन गरी सहज जीवनयापन गर्नु यहाँको विशेषता हो । नेपालको तराई कृषिका लागि निकै उर्वर छ । मलिलो पाँगो माटो, सिँचाइको सुविधा र उष्ण हावापानीका कारण तराई नेपालकै अन्न भण्डार मानिन्छ । धान, मकै, गहुँजस्ता खाद्यबाली र ऊखु, चिया, जुट, सुर्ती एवं तरकारी फलफूलजस्ता नगदेबालीको उत्पादन राम्रो हुन्छ । त्यसैले तराईका जनताको जीवनस्तर उच्च छ, जनघनत्व पनि सबैभन्दा बढी छ ।

११. छोटकरीमा लेख्नुहोस् ।

 (क) पाँगो माटो

वर्षामा नदीले बगाई ल्याएको माटोलाई पाँंगो माटो भनिन्छ । तराईका नदी किनारका फाँटमा पाइने यो माटो चुन, फस्फोरस, पोटास आदि तìव मिलेर बनेको हुन्छ । यो माटो धान, तोरी, मकै, सनपाट, उखु, सुर्तीका लागि अत्यन्त उपयोगी मानिन्छ । नेपालको पूर्वी तराई र दक्षिणी तराई क्षेत्रमा यो माटो निकै उर्वर र उत्पादनशील छ भने पश्चिमतर्फ वर्षाको न्यूनता र उत्तरतर्फ कङ्कड एवं पत्थरिलो माटोका कारणले गर्दा उत्पादकत्व कमी रहेको पाइन्छ ।

(ख) पहिलो स्तरका नदीहरू

नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालहरू पग्लेर अटुट रूपमा बग्ने ठूला र लामा नदी कोसी, गण्डकी र कर्णालीलाई पहिलो स्तरका नदीहरू भनिन्छ । धार्मिक, सांस्कृतिक, आर्थिक एवं सीमाङ्कनका दृष्टिले महìवपूर्ण रहेका यी नदी सात सातवटा सहायक नदी मिलेर बगेका छन् । हिउँदमा साना र वर्षात्मा निकै ठूला भएर बग्ने यी नदीका सहायक नदी निम्न छन् ः

(१) कोसी नदीका सहायक नदीहरू ः– सुनकोसी, तामाकोसी, दूधकोसी, अरुण, इन्द्रावती, तमोर र लिखु

(२) गण्डकी नदीका सहायक नदीहरू ः– कालीगण्डकी, बूढीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी र त्रिशूली

(३) कर्णाली नदीका सहायक नदीहरू ः– हुम्लाकर्णाली, मुगुकर्णाली, ठूलीभेरी, सानीभेरी, तीला, बूढीगङ्गा र सेती

१२. नेपालको सन्दर्भमा विकासका पूर्वाधारहरू के के हुन् ? लेख्नुहोस् ।

 देशको समग्र आर्थिक सामाजिक रूपान्तरण गर्न, विकास गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक पर्ने साधन स्रोत विकासका पूर्वाधार हुन्, जसको विकासले अरू थप विकासका कार्य प्रभावकारी बनाउन सजिलो हुन्छ । नेपाल एक अल्पविकसित विकासोन्मुख देश भएकाले नेपालमा विकासका पूर्वाधार धेरै हुन सक्छन् । नेपालको सन्दर्भमा विकासका पूर्वाधारहरू निम्न छन् ः

क. मानवीय साधन स्रोत ः दक्ष जनशक्ति, युवा जनशक्ति, श्रम गर्ने जनशक्ति

ख. आर्थिक साधन स्रोत ः सरकारी, सहकारी एवं निजी क्षेत्रको पुँजी, लगानीयोग्य रकम

ग. प्राकृतिक साधन स्रोत ः वनजङ्गल, जडीबुटी, नदी, हिमाल, खनिज पदार्थ

घ. भौतिक साधन स्रोत ः सडक, पुल, नहर, कुलो, ढल, भवन, विद्युत, सञ्चार

ङ. शिक्षा ः विद्यालय, विद्यार्थी, गुणस्तरीय शिक्षा, शैक्षिक संरचना

च. स्वास्थ्य ः स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा

छ. कृषि ः जमिन, सिँचाइ, कृषक, कृषि सेवा, बीउबिजन, मल

१३. उपभोक्ता स्वास्थ्यको महìव लेख्नुहोस् ।

 उपभोक्तालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने कार्य उपभोक्ता स्वास्थ्य हो । उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, उपभोग अवधि, लाभ हानिलगायतका विषयमा उपभोक्तालाई जानकारी गराई व्यक्ति, परिवार, समाज हुँदै समग्र देशको स्वास्थ्य स्थिति सुदृढ गर्न यसले सहयोग गर्दछ । उपभोक्ता स्वास्थ्यको महìवलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

उपभोक्ताको स्वास्थ्य, सुविधा एवं आर्थिक हित कायम राख्न सहयोग पुग्दछ ।

उपभोक्तालाई वस्तुको सही छनोट गर्न र सोको उपयोग विधिबारे जानकारी प्राप्त हुन्छ ।

वस्तु तथा सेवाको गुणस्तर, मूल्य, परिमाण एवं एकाधिकारको अनियमितताबाट उपभोक्ताको संरक्षण हुन्छ ।

सुरक्षित एवं गुणस्तरयुक्त वस्तु तथा सेवाको उत्पादन, बिक्री वितरण एवं निकासी पैठारीमा सहयोग पुग्दछ ।

उपभोक्ताहरू आफ्नो अधिकार र दायित्वप्रति सजग रहन्छन् ।

उत्पादकलाई वस्तु तथा सेवाको गुणस्तरप्रति प्रतिबद्ध गराउन मद्दत पुग्दछ ।

उपभोग्य वस्तुको कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्दछ ।

लेखन/संयोजन : हेमचन्द्र शर्मा

Nabintech
साताकाे चर्चित
सम्बन्धित