श्रीलंकाको अवस्था तनावपूर्ण
श्रीलंकाको अवस्था तनावपूर्ण

फाेटाे फिचर

    • Bell Sanchar

    • ३० असार २०७९, बिहीबार

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भागेपछि पनि श्रीलंकाको अवस्था तनावपूर्ण छ।

बुधबार प्रदर्शनकारीको एक समूह सडकमा उत्रिएर प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयमा जबरजस्ती प्रवेश गरेका थिए।
राजधानी कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीहरूले कब्जा गरेका हुन्। शनिबार राष्ट्रपति निवास कब्जामा लिएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालय समेत नियन्त्रणमा लिएका हुन्।

उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेका थिए। झडपमा दुवैतिरका केही मानिस घाइते भएका छन्।

प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री कार्यालय जोगाउन सकेनन्। बार भत्काएर प्रदर्शनकारी भित्र पसेको न्युजवायरले जनाएको छ।

प्रदर्शनकारी प्रधानमन्त्री कार्यालयको गेटमा चढेका थिए । कतिपयले गेट तोड्न खोजेका थिए। केही प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि बोतल प्रहार गरेका थिए ।

प्रधानमन्त्री कार्यालयको आपतकाल र कर्फ्युले आन्दोलनकारीलाई कुनै असर गरेको छैन। आन्दोलनकारीले सरकारको विरोध गरिरहेका छन्।

राष्ट्रपति गोताबाया राजापाक्षे श्रीलंकाबाट भागेर देशमा संकटकाल घोषणा गरेपछि रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेका छन्।

आन्दोलनकारीले आफूहरू गोटा-रानिल सरकारको विरुद्धमा रहेको भन्दै दुवैको राजीनामा माग गरिरहेका छन्।

एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने- यदि राष्ट्रपति र प्रधानमन्त्रीले आज साँझसम्म राजीनामा नगरे भने हामी फेरि भेला भएर संसद र अन्य सरकारी भवनहरू कब्जा गर्नेछौं।

यसैबीच श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिएका छन् । कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न अपील गरेको छ ।

विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो।

आफूलाई  पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।

साताकाे चर्चित
सम्बन्धित