आजदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क टिकट, रगतका लागि पनि पैसा तिर्नु नपर्ने
आजदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क टिकट, रगतका लागि पनि पैसा तिर्नु नपर्ने

रक्तसञ्चार सेवा केन्द्रका अनुसार लुम्बिनी प्रदेशका सबै अस्पतालमा आउने विरामीहरुको मागको आधारमा लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुँदै आएको छ।

    • बेल संचार

    • १ श्रावण २०७९, आईतवार

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमै यी दुई वटा अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आईतबार उक्त निःशुल्क सेवाको शुभारम्भ भएको घोषणा गरेका हुन्।

यसैगरी आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत समेत निःशुल्क गरिएको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने छ।

सरकारी अस्पतालमा आउने विरामीका लागि आवश्यक पर्ने रगत पनि सरकारले निःशुल्क गरेको हो। यसअघि रक्तदाताले निःशुल्क रूपमा रगत उपलब्ध गराए पनि व्याग लगायतका सामाग्रीको नाममा रगत प्रयोगकर्ताले प्रति व्याग ८ सय रूपैयाँ बुझाउँदै आएका थिए।

निःशुल्क सेवाको शुभारम्भ गर्दै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्धेश्यका साथ काम गरिरहेको बताए। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी अस्पतालमा आउने विरामीको लागि निःशुल्क रगत उपलब्ध गराउने गरि बजेट विनियोजन गरेको थियो।

बजेटमा निःशुल्क रगतका लागि ३ करोड र अस्पतालको ईमर्जेन्सी र ओपिडी टिकट तथा जनरल बेड निःशुल्क गर्नका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ। निःशुल्क रगत उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ।

रगतको निःशुल्क गरिएपछि इमरजेन्सी अवस्थामा रगत आवश्यक पर्ने विरामीलाई राहत मिल्नेछ। रक्तसञ्चार सेवा केन्द्रका अनुसार लुम्बिनी प्रदेशका सबै अस्पतालमा आउने विरामीहरुको मागको आधारमा लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुँदै आएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुररिटेण्डेन्ट डा. इन्द्र ढकालले ईमरजेन्सी र ओपिडी टिकट निःशुल्क गरिए पनि काउन्टरबाट बिरामीको लागि टिकट भने काट्नुपर्ने बताए।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लासँगै, स्याङ्जा, वाग्लुङ, पर्वत लगायतका जिल्लाबाट दैनिक ८ सयदेखि १ हजारसम्म बिरामी उपचारको लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालले विरामीको चाप बढेसँगै विभिन्न सेवासमेत विस्तार गर्दै गएको छ।

विक्रम सम्वत् १९६७ फागुन १५ गते बुटवलको जितगढीमा सामान्य अस्पतालको रूपमा खोलिएको यो अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पताल र २०७५ साल माघमा लुम्बिनी प्रादेशिक अस्पतालको रूपमा स्थापित भएको हो।

स्थापना हुँदा दुई जना चिकित्सक र ६ शैय्या रहेको अस्पतालमा अहिले ७० जना मेडिकल अफिसर र ३० जना विशेषज्ञ चिकित्सक सहित १ सय जना चिकित्सक छन्। त्यसैगरि २ सय ५० जना स्टार्फ नर्स तथा प्यारामेडिक्स, कर्मचारी गरी ७ सयभन्दा बढी जनशक्ति अस्पतालमा कार्यरत छन्।

लुम्बिनी प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नती हुँदै गर्दा अस्पतालमा अहिले ५ सय २० वटा बेड सहित लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बनेको छ।

अस्पताल प्रशासनका अनुसार वार्षिक साढे दुई लाख बढि विरामीले सेवा लिँदै आएको अस्पतालमा सामान्य चिकित्सा (मेडिकल) विभाग, महिला तथा प्रसूति विभाग, बालरोग विभाग, शल्यक्रिया विभाग, नान, कान र घाँटी विभाग, हाडजोर्नी विभाग, छाला, यौन तथा कुष्ठ रोग विभाग, मानसिक रोग विभाग, आकस्मिक सेवा विभाग, एनेस्थेसिया, आइसियू सेवा, दन्त सेवा विभाग, ल्याबसम्बन्धी सेवा, सिटी स्क्यान सेवासमेत उपलब्ध हुँदै आएको छ।

यसैगरि १७ बेडको मिर्गौलाको डायलासिस सेवा सञ्चालन गरेको अस्पतालमा क्याथल्याब सहितको हृदयरोग विभाग र आँखा विभाग समेत सञ्चालनको प्रक्रियामा रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले जानकारी दिए।

पूर्वपश्चिम र सिद्धार्थ राजमार्गको छेउमै रहेको यो अस्पतालमा दुर्घटनामा परेका बिरामी, प्रसुती तथा विभिन्न प्रकारको जटिल शल्यकृया समेत हुँदै आएकोले निःशुल्क रगत पछि विरामीलाई सहज हुने डा. ढकाल बताउँछन्।

बुटवलमै प्रसुति तथा बालबालिकाको लागि सिद्धार्थ बाल तथा महिला अस्पताल सञ्चालनमा रहे पनि उक्त अस्पतालले आमा सुरक्षा कार्यक्रम कार्यान्वयन नगर्दा लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति सेवा लिन आउने महिलाको संख्या ठूलो छ।

अस्पताल प्रशासनका अनुसार दैनिक करिब ४० बढीलाई सामान्य प्रसुति र १२ देखि २० जनासम्मको अपरेसन गरी ६० जनासम्मलाई दैनिक प्रसुती सेवा दिँदै आएको छ।

तीबाहेक १० देखि १२ जनासम्मको मध्यम र त्यति नै संख्यामा जटिल प्रकारका शल्यकृया हुँदै आएको छ।

हाल लुम्बिनी प्रदेश सरकारले अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रूपमा १२ सय बेडको ठूलो अस्पतालका रूपमा विकास गर्ने लक्ष्य अगाडि बढाएको छ।

साताकाे चर्चित
सम्बन्धित