काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो ।
कामपाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।
कामपाका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी नेपाल समाचारपत्रलाई दिनुभएको छ । उहाँका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ ।
‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भन्नुभयो – ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’
कामपाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव यादवले बजेटमा व्यवस्था भएअनुसार काम अघि बढाइने बताउनुभयो । ‘उपत्यकाको स्थानीय निकायका मेयरहरूसँग कुराकानी भइरहेको छ, स्थान पाउनासाथ काम शुरू गर्ने सोचमा छांै । कामपाले दक्षिणकाली नगरपालिका, चन्द्रागिरि, टोखा मध्यपुर नगरपालिका प्रमुखसँग कुराकानी भइरहेको जनाएको छ । जग्गा पहिचान हुनेबित्तिकै उद्योग स्थापना गर्ने तयारीमा लागेका छौं’ – यादवले भन्नुभयो ।
सार्वजनिक निर्माण विभागका निर्देशक थापाले समस्या जग्गा प्राप्तिको रहेको बताउनुभयो, भन्नुभयो– ‘रकमको समस्या छैन, जग्गा पाउनासाथ उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’ निर्देशक थापाले उद्योगको भौतिक संरचना सामान्य हुनेछ । तर यन्त्र उपकरणको लागि बढी खर्च हुने जानकारी दिनुभयो ।
कामपाले फोहोरलाई उत्पादनसँग जोड्नेगरी उद्योग स्थापना गर्न लागेको दाबी गरेको छ । बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा खर्च बढी हुने भएपछि आफ्नै लगानीमा कामपाले उद्योग स्थापना गर्न लागेको हो । कामपाले दैनिक करिब ४ देखि ५ सय टन फोहोर व्यवस्थापन गर्न उद्योग स्थापना गर्न लागेको हो ।
महानगरले दुर्गन्धरहित फोहोर उद्योग स्थापना गर्न लागेको जनाएको छ । महानगरको यो योजना सफल भए महानगर र यससँगै जोडिएका नगरपालिकाको फोहोर व्यवस्थापन सहज हुने जनाएको छ । त्यसका लागि छिमेकी स्थानीय तहको सहयोगमा आधा दर्जनभन्दा बढी स्थान अवलोकन गरिसकेको जानकारी दिइएको छ ।
कामपाको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन र फोहोरको परिमाण घटाउन कामपा आफैंले पहिलोपटक आधुनिक उद्योग स्थापना गर्न लागेको हो । कामपाले बन्चरे ल्यान्डफिल साइटमा फोहोरको मात्रा कम गराउन नयाँ उद्योग स्थापना गर्न लागेको हो ।
बन्चरेडाँडामा नकुहिने फोहोर मात्र
काठमाडौं महानगरपालिकालेले महानगर क्षेत्रबाट संकलन भएको कुहिने फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट नलग्ने तयारी गरेको छ । हिजो आइतबारबाट बारअनुसार कुहिने र नहुकिने फोहोर संकलन गर्न थालेको कामपा वातावरण तथा कृषि विभागले जनाएको छ ।
नकुहिने फोहोर महानगरक्षेत्रमै व्यवस्थापन गर्न शुरू गरिएको छ । कामपा ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले आइतबारबाट संकलन गर्न शुरू गरेको कुहिने फोहोर महानगर क्षेत्रमै व्यवस्थापन गर्न लागेको र संकलित फोहोर टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
‘हामीलाई यो पनि थाहा छ कि एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरूलाई बेग्लाबेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ’, मेयर बालेन्द्र साहले भन्नुभएको छ – ‘तर तत्कालका लागि तपाईंहरूको जस्तै महानगरको पनि सीमितता छन् ।’
‘अहिले जेजति स्रोत र साधनहरू छन्, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ’ – उहाँको आग्रह छ ।
महानगरले संकलित फोहोर उठाउन क्षेत्र बाँडेर २ वटा रुट बनाएको छ । पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर संकलन गरिनेछ भने मंगलबार नकुहिने फोहोर उठाइनेछ । दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइनेछ ।
यसरी हप्ताको चार दिन कुहिने फोहोर र दुई दिन नकुहिने फोहोर संकलन गर्ने तालिकाअनुसार आज कुहिने फोहोर संकलन गरिएको छ । संकलन गरिएको फोहोर प्रकृतिअनुसार ल्यान्डफिल साइटमा पु¥याइनेछ । यसरी लगिएको फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ ।
कामपाले फोहोर नछुट्टयाएर ल्याए एक पटकमा ५ सय रुपियाँसम्म जरिवाना गर्नेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न लागिएको हो ।
ऐनमा फोहोरलाई स्रोतमै छुट््याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
जैविक फोहोरबाट गड्याैले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउनसक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ ।
महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो ग-यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लास्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’