कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानी पूरानै समस्या हो।
वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गराइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार उपत्यकामा दैनिक ३ करोड ३६ लाख लिटर पानीको माग छ। आपूर्ति भने जम्मा ४९ लाख लिटरमात्र हुन्छ।
खानेपानी अभाव कसरी समाधान गर्ने भन्ने बहस बल्ल सुरू भएको छ, समाधानका उपाय खोजिँदैछन्।
खानेपानीको समाधान खोज्नेमध्ये एक हुन् वीरेन्द्रनगर-८ की १४ वर्षीया अपेक्षा गुरूङ।
कर्णाली प्रदेशमा सञ्चालित ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानमार्फत् वर्षमा एकदिन वृक्षारोपण दिवस मनाउन सुरू गरेको छ। असार ३२ गते पहिलोपटक यो दिवस मनाउन लागिएको थियो। काँक्रेविहारमा औपचारिक रूपमा सुरू गर्ने कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पनि बोलाइएको थियो।
उक्त कार्यक्रममा अपेक्षाले मुख्यमन्त्री शाहीलाई आफ्नो चित्रकला देखाइन्। आफ्नो चित्रकलामार्फत् वीरेन्द्रनगरमा खानेपानीको योजना बनाएको पनि उनले बताइन्।
मुख्यमन्त्रीलाई बुझाएको उनको एउटा योजना हो, बुलबुलेको पानी काँक्रेविहार वरिपरि नहर बनाएर जम्मा गर्ने। यसो गर्दा नहरको पानीले जमिन रिचार्ज हुन्छ। सुख्खा समयमा पनि कुवा सुक्दैनन्।
‘काँक्रेविहार वरिपरि बस्ती छ, अझ बढ्दै पनि छ,’ अपेक्षाले भनिन्, ‘स्रोत नसुक्ने भएकाले बुलुबलेको पानी काँक्रेविहारको फेद वरिपरि इनार बनाएर सञ्चालन गरिदियो भने जमिन रिचार्ज हुन्छ, त्यसले खेतीलाई पनि प्रभाव पार्छ, घरका कुवा पनि सुक्न नपाउने भएपछि खानेपानीका रूपमा प्रयोग सहज हुन्छ।’
अपेक्षाले बुलबुलेको पानी नहरमा चलायमान बनाउँदा-बनाउँदै पनि केही वरपरका बस्तीमा धारामार्फत् पनि वितरण गर्न सकिने पनि बताइन्।
‘त्यसलाई नहरबाट सोलार लिफ्टिङ गरी काँक्रेविहारको टुप्पोमा ट्यांकी बनाएर जम्मा गर्ने र त्यसलाई घरका धारामा पठाउन पनि मिल्छ,’ उनले भनिन्।
उनका अनुसार ठूलो नहर बनाएर पानीलाई चलायमान बनाउँदा बोटिङ गर्न सकिन्छ। यसो गर्दा सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र काँक्रेविहारमा थप पर्यटन प्रवर्द्धन पनि हुन्छ।
अपेक्षाले बनाएको अर्को योजना हो, करेखोलाको पानी ड्याम बाँधेर सञ्चित गर्ने। करेखोला वीरेन्द्रनगर उपत्यकाको बीचमा बग्ने खोला हो। यसको पानीको स्रोत सुख्खा समयमा भने सुक्छ। बर्षातको समयमा भएको पानीलाई सुख्खा समयमा पनि सञ्चित गरी राख्न बाँध बाध्नुपर्ने उनले बताइन्।
यसलाई सञ्चित गर्दा पनि जमिन सिञ्चित हुनेछ। इनारमा पानी सुक्न दिने छैन।
अपेक्षाले खानेपानी समस्या समाधानमा बल पुग्नेगरी बनाएका यी योजनामा पानीसम्बन्धी सिद्धान्त तीन आर (रिचार्ज, रिटेन्सन र रियुज) अबलम्बन गरेकी छन्।
‘यो त सामान्य ड्राफ्ट गरिएको स्केच मात्र हो, तर केही कुरा अध्ययन गरी यहाँको खानेपानी समस्या समाधान गर्न सुझाव पनि दिन सकिन्छ,’ उनले भनिन्, ‘यस्तो योजना सम्बन्धित निकायले नै बनाएर पहल गर्यो भने राम्रो हुन्छ, एउटै ठूलो योजना निरन्तर हुन नसक्दा पनि यस्ता योजनाले पानी आपूर्तिमा सहयोग पुग्छ।’
मुख्यमन्त्री शाहीले उनको योजना सुनेपछि यसबारे विचार गर्ने बताए।
‘उहाँले दिएको योजना र स्केचबारे पनि हामी कुरा गर्छौं यसमै केही गर्न सकिन्छ कि भनेर विचार पनि गरौँला,’ उनले भने।
मुख्यमन्त्री शाहीको सकारात्मक प्रतिक्रियाले आफू निकै खुसी भएको अपेक्षाले बताइन्।
‘वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने माग प्रदेशकै हो, हामी यसलाई पनि विचार गर्छौं भनेर मुख्यमन्त्रीले पनि भन्नुभएको छ। उहाँले मेरो योजना मन पराउनुभयो,’ अपेक्षाले भनिन्, ‘म एकदमै खुसी भएँ।’
अपेक्षालाई यो वीरेन्द्रनगरको खानेपानी समस्या समाधानको आइडिया दोलखा घुम्न जाँदा आएको हो। गत वर्ष वैशाखमा उनको परिवार नै कालिञ्चोक घुम्न गएका थिए। त्यहाँबाट चीन-नेपाल सीमानामा पनि पुगेका थिए।
‘त्यहाँ चीनले बनाएको सोलारबाट पम्पिङ गरेका योजना थिए, सुर्खेतमा आएपछि मलाई यहाँको बुलबुलेको खेर जाने पानी पनि यसैगरी सोलारबाट पम्पिङ गरी वितरण गर्न सकिन्छ भन्ने आइडिया आएको हो,’ उनले भनिन्, ‘मैले यो कुरालाई आर्टमा उतार्ने योजना बनाएँ, बाबाआमाले र एकजना डाक्टरले सही छ भन्नुभयो।’
उनकी आमा लिला गुरूङका अनुसार आर्ट बनाउनु अपेक्षाको बानी हो। यसबाहेक उनको खेलकुदमा पनि राम्रो छ। आमा लिला वीरेन्द्रनगरमै रहेको सिद्धार्थ पाठशालामा पढाउँछिन्। बुवा यामबहादुर गुरूङ गैरसरकारी संस्था हेल्भेटासमा काम गर्छन्।
अपेक्षाले सुनाएको योजना राम्रो भएको ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियन्ता डाक्टर नवराज केसीले बताए। बुलबुलेको पानी काँक्रेविहार परिक्रमा गराउँदा वातावरणलाई समेत सकारात्मक प्रभाव पर्ने बताउँछन्।
अहिले उचित रूपमा प्रयोगमा नआएको यो पानीको निरन्तर स्रोतलाई अपेक्षाको योजना अनुसार प्रयोगमा ल्याउनुपर्ने उनले बताए।
वीरेन्द्र नगरमा पानीको समस्या
कुनैबेला विरेन्द्रनगरमा जनसंख्या थोरै थियो। अहिले बढेर झन्डै २ लाख ८० हजार पुगिसककेको छ। पहिले-पहिले सुख्खा समयमा मात्र खानेपानीको समस्या हुने उपत्यकामा अहिले बर्षातमै पनि मागअनुसार पानी पुग्दैन।
वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गराइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार औसतमा प्रतिव्यक्तिले १२० लिटर दैनिक पानी खपत गर्ने हिसाबाट उपत्यकामा दैनिक ३ करोड ३६ लाख लिटर पानी आपूर्ति हुनुपर्छ।
यो भनेको संस्थाको क्षमताभन्दा कयौं गुणा धेरै हो। बर्षातको समयमा दैनिक १ करोड २७ लाख लिटर पानी आपूर्ति गर्न सक्ने क्षमताका मात्रै संरचना छन्।
तै पनि संरचनाअनुसारको पूर्ण आपूर्ति हुँदैन। बर्षातमा औसत ४९ लाख लिटर पानी आपूर्ति हुन्छ।
‘मौसम प्रतिकूलताका कारण संरचनाको क्षमताअनुसार पानी आपूर्ति हुँदैन, स्रोतमा पनि त्यसै अनुसारको पानी पर्याप्त हुन्छ। तर पूरै पानी आउनका लागि मौसम अनुकुल हुनुपर्छ,’ देवकोटाले भने।
संस्थाले आपूर्ति गर्ने पानीभन्दा दैनिक २ करोड ८७ लाख लिटर खाने पानी वीरेन्द्रनगरमा अपुग छ।
यो समस्या समाधानका लागि पछिल्लो समय सबैतिरबाट सोचिएको समाधानको उपाय हो, भेरीको पानी लिफ्टिङ गरी उपत्यकामा झारेर वितरण गर्ने।
यसको लागि विस्तृत आयोजा प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ। पाँच अर्ब बढी खर्च हुने यो योजनामा पूरा हुन कति समय लाग्छ भन्ने थाहा छैन। साउन वा भदौसम्म ठेक्का लगाउने सम्भावना भएको नगरपालिकाले बताएको छ।
यता, बुलबुलेको पानी मोटरमार्फत् तानेर प्रतिसेकेण्ड १५ लिटर पानी आपूर्ति गर्ने योजना सुर्खेत उपत्यका खानेपानी संस्थाको भए पनि अनुमति नपाएको अध्यक्ष देवकोटाले बताए।
‘हामीले अघिल्लो कार्यकालमा नगरपालिकालाई यो प्रस्ताव गरेका थियौं, तर अनुमति पाइएन,’ उनले भने।