नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको वास्तविकता खोज्न संसदीय समिति गठनको माग भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले जिम्मेवार पार्टीको जिम्मेवार विभागका सदस्यको खोजी गर्न समिति बन्नुपर्ने बताएका हुन्।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशबारे सीसीटीभी फुटेज खोज्न समिति बनेझैं एम अधिकारीको खोजी गर्न समिति बन्नुपर्ने महतले माग गरेका हुन्।
‘त्यो सीसी क्यामेरा खोज्ने समिति बनिसकेको छ, त्यत्रो महत्त्वपूर्ण मान्छे हराएको छ, त्यो खोज्ने कुनै समिति बनेको छैन। म कसलाई भनौं? यो कसले खोजिदिने?,’ उनले प्रश्न गरे।
‘सरकारले खोजीको जिम्मा विद्यार्थीलाई दिएको छ, प्रतिपक्ष आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामेरा खोज्दै हिँडेको छ,’ उनले भने।
एमालेको अर्थ योजना विभागमा सदस्य रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको दाबी गर्दै विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन्।