नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्।
बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनलाई कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।
हालै बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
गत वैशाखमा केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई बालुवाटारमा बोलाएर पार्टी प्रवेश गराएका थिए।