फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा
फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

बुधबार राति इंग्ल्यान्डमा भएको खेलमा जर्मनीलाई जिताउन एलेसान्द्रा पोपले दुवै गोल गरिन्। फ्रान्सले उपहार गोल पाएको थियो।

    • बेल संचार

    • १२ श्रावण २०७९, बिहीबार

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। सर्वाधिक ८ पल्टको च्याम्पियन जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै नवौंपटक फाइनलमा प्रवेश गरेको हो।

बुधबार राति इंग्ल्यान्डमा भएको खेलमा जर्मनीलाई जिताउन एलेसान्द्रा पोपले दुवै गोल गरिन्। फ्रान्सले उपहार गोल पाएको थियो।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा एलेसान्द्रा पोपले गोल गर्दै जर्मनीलाई सुरूआती अग्रता दिलाइन्। तर ४४ औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा पुग्यो।

खेलको ७६ औं मिनेटमा एलेसान्द्रा पोपले गोल गर्दै टोलीलाई पुन अग्रता दिलाइन्। त्यसपछि थप गोल निस्कन नसक्दा जर्मनी नवौ पटक उपाधि नजिक पुग्यो।

जर्मनी यसअघि फाइनल प्रवेश गरेको सबै आठै संस्करणमा च्याम्पियन बनेको टोली हो। उसले १९८९, १९९१, १९९५, १९९७, २००१, २००५, २००९ र २०१३ को उपाधि जितेको थियो। अघिल्लो संस्करण २०१७ मा जर्मनी क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। सेमिफाइनल प्रवेशको खेलमा जर्मनी डेनमार्कसँग २-१ ले पराजित भएको थियो।

अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। फाइनल साउन १५ गते राति हुनेछ। यसअघि सन् २००९ मा फिनल्याण्डमा भएको फाइनलमा जर्मनीले इङ्ल्याण्डलाई ६-२ गोल अन्तरमा हराएर उपाधि जितेको थियो।

यसअघि इंग्ल्यान्डले स्वीडेनलाई ४–० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

साताकाे चर्चित
सम्बन्धित