सांसद गजेन्द्रबहादुर महत ,नेपालमा ‘रेड लाइट एरिया’ को आवश्यकता भइसक्यो
सांसद गजेन्द्रबहादुर महत ,नेपालमा ‘रेड लाइट एरिया’ को आवश्यकता भइसक्यो

कानुन मात्र कडा बनाएर, सजाएर मात्र हुँदैन ।

    • बेल संचार

    • १३ श्रावण २०७९, शुक्रबार

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले यौन हिंसाका घटना बढिरहेको भन्दै अब ‘रेड लाइट एरिया’ अर्थात् यौन व्यावसायिक क्षेत्र घोषणा गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

यौन क्रियाकलाप मानव जीवनसँग जोडिएको शारीरिक आवश्यकता भएकाले कडा कानुन बनाएर दबाउन खोज्नु उचित नहुने उनको तर्क छ ।

‘रेड लाइट एरिया’ को विषयलाई सांसद महतले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि उठाएका थिए ।

‘प्रतिनिधिसभा सदनमा यौन हिंसाको उजुरी दिने समयावधि बढाउने बारेमा छलफल भइरहेको थियो ।

यौन हिंसालाई नियन्त्रण गर्नको लागि ठूलो सजाय दिनुपर्छ, कडा कानुन बनाउनुपर्छ भन्ने सवाल उठेका थिए ।

त्यसमा मेरो मत फरक थियो । यौन हिंसालाई त्यही कारणले निरुपण गर्नुपर्छ । कानुन मात्र कडा बनाएर, सजाएर मात्र हुँदैन ।

सहवास भन्ने कुरा खाना र पानी खाए जस्तो हुन्छ । यो शारीरिक आवश्यकतासँग जोडिएको छ ।

संवादकै क्रममा सांसद महतले २०४५ सालतिरको खुला यौन व्यापारबारे स्मरण गरे ।

त्यतिबेला नेपालगञ्जको गगनगञ्ज क्षेत्र खुला यौन व्यवसायका लागि प्रख्यात रहेको उनी सम्झिन्छन् ।

‘२०४५ सालतिर नेपालगञ्ज घुम्न जाँदा हामीले देख्थ्यौँ । त्यहाँ गगनगञ्ज भन्ने ठाउँ थियो ।

पहाडबाट झरेका मान्छेहरू, भारतबाट आएका मान्छेहरू त्यहाँ जान्थे र फ्रेस हुन्थे । हाम्रो गाउँलेहरु जान्थे । नजिकै चौकी पनि थियो । तर, प्रहरीले नदेखे झै गर्थ्यो ।

त्यहाँ युवा युवतीहरू निस्फिक्रीका साथ सहवास गर्थे ।

उनीहरूको च्वाइसअनुसार सहवास हुन्थे । उनीहरू त्यहाँ फ्रेस हुन्थे । त्यतिबेला पनि ‘फ्रेस एरिया’ त रैछ नि त,’ सांसद महतले भने ।

प्रतिनिधिसभामा धेरै सांसद ‘फ्रेस एरिया’ हुनुपर्छ भन्ने धारणा रहेको उनी बताउँछन् । खुला यौन व्यवसायको विषयलाई चाँडै विधेयकको रूपमा अगाडि बढाउनुपर्ने बेला भइसकेको महतको भनाइ छ । साथै, खुला यौन व्यवसायले मान्छे फ्रेस भएर यौन हिंसासमेत घट्ने उनको तर्क छ ।

‘अब त्यो फ्रेस एरियाको बारेमा अहिलेको सरकारले किन नसोच्ने? फ्रेस एरिया भएपछि यौन हिंसा धेरै कम हुन्छ ।

मान्छे फ्रेस भइसकेपछि पढ्ने मान्छे पढ्नतिर लाग्छ, व्यवसाय गर्ने मान्छे व्यवसाय गर्नतिर लाग्छ । युवाहरूलाई त्यो नभइ नहुने कुरा हो ।

मान्छेहरू जंगलतिर गइराख्या हुन्छन्, पार्कतिर गइराख्या हुन्छन् । होटलतिर गए प्रहरीले समाउँछ,’ सांसद महतले भने, ‘यो त नभइ नहुने कुरा हो ।

मान्छेले खिसिटिउरी गर्छन्, यो रोकेर राख्न सकिने कुरा होइन । प्रतिनिधिसभामा धेरै सांसदहरू फ्रेस एरिया हुनुपर्छ भन्ने छ ।

यसलाई विधेयकको रूपमा अगाडि बढाउनुपर्ने बेला भइसकेको छ, ढिलोचाँडो फ्रेस एरिया बनाउनुपर्छ ।’

साताकाे चर्चित
सम्बन्धित