अधिकांश सहरको प्रमुख चुनौती बनेको छ-फोहोरमैला व्यवस्थापन। घर-घरबाट संकलन गरिने र बजारमा यत्रतत्र फालिएका फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सहर दुर्गन्धित बन्ने गरेको छ। बासिन्दाको स्वास्थ्यमा पनि जोखिम हुने गरेको छ।
यता रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई भने ढुक्क छ।
तिलोत्तमामा नगरपालिका र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सहकारीको माध्यमबाट बासिन्दा आफैंले फोहोरमैला व्यवस्थापन गर्ने र बायोग्यास उत्पादन गर्ने योजना अघि बढाएका छन्।
‘वास स्वास्थ्य सहकारी संस्था लिमिटेड’ लाई तिलोत्तमा नगरपालिका र युएनडिपीले फोहोर व्यवस्थापन परियोजनामा आर्थिक सहायता गरेका छन्।
फोहोरमैला व्यवस्थापनको लागि ‘हरित पुनरुत्थान प्रवर्द्धन परियोजना’ ले तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७ देखि १७ सम्मका ११ वटा वडाको फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको छ।
वडा नं ८ स्थित करहिया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोलाले उकास गरेको ६ बिघा जमिनमा ‘वास स्वास्थ्य सहकारी संस्था’ले घर-घरबाट संकलन गरेको फोहोर ल्याउँछ र छुट्याउँछ। त्यसपछि बिक्री गर्ने गरेको छ।
नगरपालिकामा २०७४ सालमा पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएर आएपछि सुरू गरिएको उक्त सहकारीले २०७६ सालमा नगरपालिकालाई खुला प्लास्टिकबाट मुक्त गर्ने अभियान चलायो। यससँगै सहकारीको काम अघि बढ्यो।
उक्त अभियानको क्रममा नगरभित्रका सिँचाइका नहर, कुलो, खोला, पार्क, सार्वजनिक स्थानलगायत घर-घरबाट एकै पटक प्लास्टिक संकलन गरिएपछि यही प्रशोधन केन्द्रमार्फत् व्यवस्थापन गरिएको संस्थाका अध्यक्ष खेम गौतमले जानकारी दिए।
उनले भने, ‘एउटै अभियानमा झण्डै १५ ट्र्याक्टर प्लास्टिक संकलन भएको थियो, नगरपालिकाले सार्वजनिक स्थलबाट प्लास्टिक संकलन गरेपछि त्यसको व्यवस्थापन भने हामीले नै गरेका थियौं।’
अहिले सहकारी संस्थाले चार वटा ट्र्याक्टरमार्फत् फोहोर संकलन गरी प्रशोधन केन्द्रमा ल्याउँछ। प्रशोधन ल्याइएका बोरा, प्लास्टिक, सिसा, फलाम, टिन जस्ता पुनः प्रशोधन गर्न मिल्ने फोहोर अलग-अलग गरी छुट्याउने गरिन्छ। फोहोर संकलन गर्ने र छुट्याउने कामकै लागि ४० जनाले रोजगारी पाएका छन्।
सहकारीले फोहोर संकलन र व्यवस्थापनबाट आम्दानी पनि बढाएको छ।
संस्थाका अध्यक्ष गौतमका अनुसार यसरी प्रशोधन गरिएको फोहोर प्रतिकेजी ६ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
उनले भने, ‘सुरूमा नाफा नभए पनि काम गरिरह्यौं, अहिले संकलित प्लास्टिक, फलाम, टिन जस्ता फोहोर वस्तु बिक्री गरेर आम्दानी गर्न थालेका छौं।’
गौतमले फोहोर प्रशोधनबाटै वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए।
‘रिसाइकल गर्न नमिल्ने बिस्कुट, गुट्खा, चाउचाउ लगायतका प्लास्टिक समेत प्रतिकिलो ६ रुपैयाँमा इँटाभट्टामा बिक्री हुने गरेको छ, अहिले सहकारी विस्तारै नाफामा जाँदैछ,’ उनले भने।
फोहोर संकलन र व्यवस्थापन सँगै सहकारीले युएनडिपीसँगको सहयोगमा कम्पोस्ट र गड्यौला मल बनाउने तालिम, मल बनाउन विन वितरण र गड्यौला वितरण गर्दै आएको छ।
त्यस्तै, फोहोर संकलन गर्ने कामदारहरूलाई तालिम, स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
अहिले नगरपालिका, युएनडिपी र संस्थाको त्रिपक्षीय सहयोगमा फोहोर प्रशोधनको काम भइरहेको गौतमले बताए।
बचत संकलन गर्ने र ऋण दिनेबाहेक सहकारीले स्वास्थ्य, सरसफाइ र खानेपानीलाई आफ्नो कार्यक्षेत्र तोके पनि अहिले भने फोहोर व्यवस्थापनको काम मात्रै अघि बढाएको छ।
सदस्यहरूबाट ५७ लाख रुपैयाँ संकलन गरेर सुरू गरिएको सहकारीमा तिलोत्तमा नगरपालिकाले १ करोड ४३ लाख रुपैयाँ र युएनडिपीले १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ।
‘सुरूमा सदस्यहरूले नै रकम संकलन गरी संस्था स्थापना गरिए पनि अहिले तिलोत्तमा नगरपालिकाले रकम लगानी गरेर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र भन्ने वातावरण सृजना भएको छ,’ गौतम भन्छन्, ‘यसलाई हामीले सफलता मानेका छौं।’
तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने हरेक व्यक्ति सहकारीको सदस्य बन्न पाउँछ। सदस्यता शुल्क गच्छेअनुसार ५ हजारदेखि १ लाख रुपैयाँसम्म तोकिएको छ।
फोहोर संकलन गर्न प्रतिचुलो मासिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ। होटल, रेस्टुरेन्ट तथा व्यापारिक प्रतिष्ठानबाट फोहोरको परिमाणअनुसार अनुसार एक हजार रुपैयाँसम्म लिने गरेको संस्थाका सुपरभाइजर चन्द्रबहादुर गुरूङले बताए।
सहकारीले अहिले नकुहिने फोहोरमात्र प्रशोधन गरी बिक्री गर्दै आएको छ।
गौतमका अनुसार नकुहिने फोहोर बुटवल, देवदह, भैरहवामा रहेका रिसाइक्लिन उद्योगहरूले किन्छन्। फालिएका प्लास्टिक पगालेर पुनः प्लास्टिकका वस्तुहरू उत्पादन हुन्छन्। फलाम, टिनहरू कवाड पसलहरूले किन्छन्। त्यसबाट पनि नयाँ सामग्री उत्पादन हुन्छन् । पुन: प्रयोग नहुने गुट्खा, चाउचाउ, बिस्कुट लगायतका प्लास्टिक इँट्टाभट्टाले भट्टीमा आगो लगाउन लैजान्छन्।
कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने योजना छ।
गुरूङका अनुसार कम्पोस्ट मल बनाउने मेसिन मगाइएको छ। मेसिन जडानका लागि ट्रस पनि निर्माण गरिएको छ। मेसिन जडानपछि कुहिने र नकुहिने फोहोर घरमै वर्गीकरण गर्न लगाएर फोहोर उठाउने योजना छ।
अधिकांश बासिन्दा कृषक भएकाले कुहिने फोहोर उनीहरू आफैंले व्यवस्थापन गर्ने गरेका छन्।
वडा नम्बर १ देखि ६ वडासम्मको फोहोर व्यवस्थापनको काम भने ‘वातावरण सुन्दर नेपाल प्रालि’ ले गर्ने गरेको छ।
यो कम्पनीले घर-घरबाट संकलन गरिएको कुहिने फोहोर वडा नम्बर ५ स्थित तिनाउ नदीको उकास क्षेत्रमा खाडल खनेर व्यवस्थापन गर्दै आएको छ।
फोहोर बिक्रीबाट मासिक दुईदेखि साढे दुई लाखसम्म आम्दानी हुन्छ भने फोहोर संकलन गरेबापत घर-घरबाट मासिक ८ लाख रुपैयाँसम्म शुल्क उठ्छ।
खर्च कर्मचारी तलबमा मासिक ५ लाखसम्म हुन्छ। ट्र्याक्टर मर्मत, डिजेल खरिद लगायतमा ३/४ लाख खर्च हुन्छ।
कम्पनीका प्रबन्ध निर्देशक बलभद्र पुरीका अनुसार नकुहिने र पुनःप्रशोधन गर्न मिल्ने फोहोर बिक्री गर्ने गरेको छ।
बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने आकलन गरेर पूर्ववर्ती जनप्रतिनिधिले तिलोत्तमाका हरेक वडामा नियमित सरसफाइ अभियान सुरू गरेका थिए। अहिले पनि प्रत्येक महिनाको १ गते र १५ गते नियमित रूपमा सफाइ अभियान चल्ने गरेको छ।
नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यसअघि नै नगरपालिकाले अघि सारेको फोहोर सदुपयोग योजना अहिले पनि निरन्तर चलिरहेको बताए।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहोर परियोजनामार्फत् व्यवस्थापन गर्दा दीगो हुने बताइन्। समुदायको अगुवाइमा परियोजना सञ्चालन भएकोले स्थानीय समुदायको अपनत्व रहेको उनको भनाइ छ। सेतोपाटी