पिण्डेश्वर बाबाधाममा भक्तजनको भीड  
पिण्डेश्वर बाबाधाममा भक्तजनको भीड  

विजयपुरको पाखा र धरानका मुख्य चोकमा यति बेला पहेंलो बस्त्र लगाउने भक्तजनको भीड बढेको छ ।

    • Bell Sanchar

    • २३ श्रावण २०७९, सोमबार

धरान,
धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ । दुई वर्ष कोरोनाका कारण प्रत्येक साउन महिनामा लाग्ने यहाँको बोलबम मेला लाग्न सकेको थिएन । सप्तकोशी नदीबाट पानी ल्याएर पिण्डेश्वर बाबाधाममा जल चढाउने भक्तजनको भीड लागेको छ ।

मन्दिरका पुजारी विनोद पोखरेलका अनुसार आइतबार राति ८ बजेदेखि नै भक्तजन लाइन लागेका थिए । आज साँझसम्म नै भक्तजन जल चढाउन आउने गर्दछन् । विजयपुरको पाखा र धरानका मुख्य चोकमा यति बेला पहेंलो बस्त्र लगाउने भक्तजनको भीड बढेको छ । साउन महिनामा धरान बजार गेरुबस्त्रधारीले पहेलपुर हुने गर्दछ ।

सुनसरीको बराहक्षेत्रस्थित कोकाह नदीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाउने गरिन्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहिता युवतीले राम्रो पति पाउँ भन्दै शिवलिङ्गमा जल चढाउने गर्दछन् । सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । टाढाटाढाबाट आएका भक्तजन हिजै कोकाहा नदीमा नुहाएर त्यहाँबाट जल बेलुका लिएर पिण्डेश्वर बाबाधाम पुगेका थिए । रातभरि जाग्राम बसी आज बिहान जल चढाएर घर फर्कछन् । मनोकांक्षा पूरा होस् भनी कतिपय भक्तजन खाली खुट्टामा आउने गर्दछन् । कतिपय त सुतेर धर्तीलाई साष्टाङ्गदण्डवत् गर्दै बाबाधामसम्म पुग्ने गर्छन् ।

वडा कार्यालयले यसपटक बोलबमको जिम्मा लिएकाले पूजा गरेर फर्किनेहरुका लागि अलग्गै बाटो बनाएको छ । मन्दिर अगाडि माग्न बस्नेहरुलाई पनि मन्दिरको पछाडितिर व्यवस्थापन गरिएको छ । भक्तजनको सहजताका लागि प्रहरी परिचालन, शौचालय र ट्राफिक व्यवस्थापनलाई ध्यान पु¥याइएकोे वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।

आज साउनको चौथो सोमबार भएकाले अन्य सोमबार भन्दा बढी भक्तजन आएको पिण्डेशवर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालेले जानकारी दिनुभयो । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ३० गतेसम्म यहाँ भक्तजनको भीड लाग्ने समितिले जनाएको छ । भारत बिहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो । अहिले देशका मुख्य शिवालयमा बोलबम मेला लाग्ने गरिए पनि सर्वप्रथम पिण्डेश्वरबाट बोलबम मेलाको सुरुआत गरिएको थियो । साउन शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरुमा शिवभक्तको घुइँचो लाग्ने गर्दछ ।

मध्यकालीन कलाकैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबाधाम ऐतिहासिक र धार्मिक विशेषता बोकेको क्षेत्र पनि हो । यहाँ प्रत्येक वर्ष करिब आठ लाख भक्तजन श्रद्धापूर्वक पूजा आराधना गर्न आउने गर्दछन् । साउन महिनामा मौत्र पाँच÷छ लाख भक्तजन जल चढाउन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पछिल्लो समय भारतको काशी र काडमाडौँको पशुपति मन्दिरमा आरती गर्न जाने भक्तजन पिण्डेश्वर मन्दिरमा आउने गरेका छन् । श्रावण महिनामा पिण्डेश्वरको अग्रभागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न थालिएपछि भक्तजनको भीड बढेको हो । बटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवानको गुणगान गाउँदै आरती गर्ने गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित