‘प्रधानमन्त्रीले ढुक्क हुनुस् भन्नुभएको छ, डोटीमा म निर्विकल्प हुँ’
‘प्रधानमन्त्रीले ढुक्क हुनुस् भन्नुभएको छ, डोटीमा म निर्विकल्प हुँ’

यहाँ कांग्रेसबाट सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र २०७४ सालमा निर्वाचित एकीकृत समाजवादीका सांसद तथा नेता प्रेम आलेको दाबी छ।

    • Bell Sanchar

    • २५ श्रावण २०७९, बुधबार

संसदीय निर्वाचनको सिट बाँडफाँटमा सत्ता गठबन्धनको कार्यदल जुटेको छ। बाँडफाँटमा गठबन्धनलाई पेचिलो पर्नेमध्येको जिल्ला डोटी हो। डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ।

यहाँ कांग्रेसबाट सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र २०७४ सालमा निर्वाचित एकीकृत समाजवादीका सांसद तथा नेता प्रेम आलेको दाबी छ।

गएको स्थानीय निर्वाचनमा डोटीमा कांग्रेसले राम्रो मत ल्याएको छ। कांग्रेसका जिल्लाभरिका वडाध्यक्ष उम्मेदवारको मत जोड्दा ३४ हजार ४७ छ। एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारको ३ हजार २ सय ५ मत मात्र छ।

पार्टीको लोकप्रिय मतका आधारमा टिकट आफूले पाउनुपर्ने अडान बलायरको छ।  उनले कांग्रेसको केन्द्रीय समिति बैठकमै गठबन्धनका नाममा कसैलाई नछोड्ने बताइसकेका छन्।

अर्कातिर एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनाउन भूमिका खेलेका र प्रधानमन्त्री देउवालाई सिहंदरबार पुर्‍याउन व्यक्तिगत प्रयत्न समेत गरेका नेता हुन् आले। प्रधानमन्त्रीको प्रतिबद्धताका कारण पनि आफू डोटीमा गठबन्धन तर्फबाट निर्विकल्प उम्मेदवार रहेको दाबी उनले गरिरहेका छन्।

डोटी नपाए आलेले के गर्छन्? सेतोपाटीका शिशिर ढकालले प्रेम आलेसँग संक्षिप्त संवाद गरेका छन्।

निर्वाचन क्षेत्रको बाँडफाँटमा डोटी पेचिलो जिल्ला बनेको छ। तपाईं कहाँबाट उठ्ने तयारीमा हुनुहुन्छ?

एकीकृत समाजवादीबाट सुदूरपश्चिमबाट निर्वाचित म एक मात्रै सांसद हुँ। एमाले विभाजनका बेलामा समाजवादीबाट आएका सांसदहरूको सिट सुरक्षित गर्ने सहमतिअनुसार डोटीमा मेरो दाबी स्वत: छ। मैले डोटी छोड्ने कुरै छैन। मैले मात्रै होइन समाजवादीका निर्वाचित सांसदहरू अहिले जहाँबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँहरूले त्यहीँको टिकट पाउनुहुन्छ।

स्थानीय चुनावको मतको आधारमा समाजवादीलाई डोटी छोड्न नसकिने धारणा कांग्रेसभित्र छ नि?

भोटको फुइँ कसैले पनि नलगाए हुन्छ। डोटीमा कांग्रेसलाई आएको मत भनेको एमालेका उम्मेदवारले जित्नुभन्दा गठबन्धनका उम्मेदवारले जितून् भन्ने मनसायले आएको हो। माओवादीको मत पनि कांग्रेसलाई गएको छ। त्यसैले कांग्रेसले मतको दाबी गर्नु व्यर्थ छ। स्थानीय चुनाव र प्रतिनिधिसभा चुनाव फरक हो। डोटीमा कांग्रेसलाई छाड्ने कुरै छैन। मलाई त्यहाँ उठाउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुहुन्छ।

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले गठबन्धनका नाममा अरूलाई नछोड्ने अडान केन्द्रीय समितिमै राख्नुभएको छ।  कांग्रेसलाई पनि नेता व्यवस्थापनको चुनौती छ। यस्तो अवस्थामा तपाईंले नै पाउनु होला त?

कसैले टाउको ठोक्दैमा टिकट पाउने हो र! राजनीतिक सहमतिअनुसार पाउने हो नि!

२०७४ को निर्वाचनमा बलायर मसँगै पराजित हुनुभएको हो। त्यस बेला मैले एमालेको समानुपातिक मतभन्दा तीन हजार बढी मत ल्याएको थिएँ। कांग्रेसमा त्यहाँबाट बलायर मात्रै हुनुहुन्न नि! यज्ञराज पाठक, भरतबहादुर खड्का पनि हुनुहुन्छ। उहाँहरूको त कुनै दाबी आएको छैन।

डोटीमा  सत्ता गठबन्धनकातर्फबाट म निर्विकल्प उम्मेदवार हो।

तपाईंले प्रधानमन्त्री देउवासँग पनि बेलाबखत संवाद गरिरहनुभएको छ। डोटीबारे के कुरा हुन्छ?

उहाँलाई प्रधानमन्त्री बनाउन मैले नै आठ जना सांसद ल्याएको हुँ। मेरो योगदानबारे उहाँ जानकार हुनुहुन्छ। प्रधानमन्त्रीले डोटीमा तपाईं नै हो, ढुक्क हुनुस् भन्नुभएको छ।

साताकाे चर्चित
सम्बन्धित