मधेसका यी असन्तुष्ट नेता तान्न एमालेको कसरत
मधेसका यी असन्तुष्ट नेता तान्न एमालेको कसरत

गुप्ता वैशाख ३० को स्थानीय चुनावमा गौरको मेयरमा नेकपा (एकीकृत समाजवादी) का शम्भु साहसँग मेयरमा पराजित भएका हुन्।

    • Bell Sanchar

    • २५ श्रावण २०७९, बुधबार

मंगलबार बानेश्वरस्थित संसद भवनको क्यान्टिनमा एमाले सांसद यज्ञराज सुनुवार, महेश बस्नेत आगामी चुनावबारे कुरा गरिरहेका थिए। त्यही बेला सांसदहरू हृदयश त्रिपाठी र उमाशंकर अरगरिया आइपुगे।

२०७४ को चुनावमा सूर्य चिन्हबाट लडेर जितेका त्रिपाठीलाई देखेपछि सुनुवारले भने- दाइ, तपाईं कता हिँडिरहनुभएको, पार्टीमा आएर स्थायी कमिटीमा बस्नुपर्‍यो।

सुनुवारको कुरामा बस्नेतले थपे- हृदयश दाइ कहाँ स्थायी कमिटी हुनु, पदाधिकारी हो नि! स्थायी कमिटी त उहाँ अगरियाजी हो।

अगरियाले सोधे- मलाई स्थायी कमिटी बनाउँछ त पार्टीले?

संसदको क्यान्टिनमा सांसदहरूबीच भएको यो कुरा हाँसीमजाक जस्तो देखिए पनि यसमा एमालेको आगामी चुनाव लड्ने रणनीति लुकेको छ।

साउन २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौतहटको गौर पुगेर लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पार्टीमा भित्र्याए।

गुप्ता वैशाख ३० को स्थानीय चुनावमा गौरको मेयरमा नेकपा (एकीकृत समाजवादी) का शम्भु साहसँग मेयरमा पराजित भएका हुन्।

उनी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) बाट मेयरमा निर्वाचित भएका थिए। उनै गुप्ता २०७०को संविधान सभा चुनावमा तत्कालीन एमालेका तर्फबाट उम्मेदवार बनेका माधवकुमार नेपालसँग ३ सय मतले पराजित भएका थिए। एमालेले यसपटक गुप्तालाई एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडाउने योजना बनाएको छ।

यसअघि स्थानीय तह निर्वाचनमा पनि एमालेले विभिन्न राजनीतिक दलका नेताहरूलाई पार्टी प्रवेश गराएको थियो। त्यही रणनीति उसले अहिले पनि लिएको छ।

एमालेले वीरगन्ज महानगरपालिकाका बहालवाला मेयर विजय सरावगीलाई प्रवेश गराएको थियो। चुनावमा सरावगी जनता समाजवादी पार्टीका राजेशमान सिंहसँग पराजित भएका थिए। एमालेले मधेसमा मेयरका उम्मेदवार मात्रै होइन, वडाका उम्मेदवारसमेत नवप्रवेशीलाई बनाएको थियो। वीरगन्ज महागरका ३२ वडामध्ये २० मा एमालेका नवप्रवेशीहरू अध्यक्षको उम्मेदवार बनेका थिए।

स्थानीय चुनावअघि एमालेले मधेस प्रदेशमा जसरी पार्टी प्रवेश गराएको थियो। त्यो अनुसारको नतिजामा सुधार पनि गरेको थियो। २०७४ साल मधेसका १८ पालिका मात्रै निर्वाचन जितेको एमालेले यस पटक ३० पालिका मेयर र अध्यक्ष जितेको छ।

मंसिरमा हुने निर्वाचनका लागि पनि एमालेले अरू पार्टीका नेताहरूलाई तान्ने प्रयास गरिरहेको छ। अजय गुप्ताबाट सुरू गरेको यो अभियान एमालेले आक्रमक रूपमा अघि बढाउन खोजेको छ। उसले अन्य पार्टीका असन्तुष्ट नेताहरूलाई तान्न खोजिरहेको छ।

जनता समाजवादी पार्टी(जसपा)र लोकतान्त्रिक समाजवादी(लोसपा)का सांसदहरूलाई नै पार्टीमा भित्र्याउन खोजेको छ। सत्ता गठबन्धनमा लोसपा जाने तयारी गरेपछि यसका असन्तुष्ट नेताहरू एमालेसँग नजिकिएका छन्। उनीहरूले गठबन्धनबाट टिकट नपाएमा एमालेसँग जाने ठाउँ राखेका छन्।

एमालेसँग निकट रहेका लोसपाका नेता विमल श्रीवास्तवले आफूले एमालेसँग तालमेल गरेर जाने अडान लिएको बताए।

‘मत अहिले पनि एमालेसँगै तालमेलको पक्षमा छु। एमालेसँग गठबन्धन गर्दा नै हामीलाई फाइदा छ। हेरौं चुनावसम्मको अवस्था कस्तो हुन्छ,’ उनले भने,’पार्टीले एउटा निर्णय गर्‍यो भने के गर्ने भन्ने त्यतिबेलै हुन्छ होला। तर मत एमालेसँग नै धेरै नजिक छु।’

लोसपाले सत्ता गठबन्धनसँग नै तालमेल गर्ने सम्भावना रहेको उनले बताए। २०७४ को निर्वाचनमा श्रीवास्तवले तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचन जितेका थिए। पार्टी एकता भएर जनता समाजवादी पार्टी गठन भएर विभाजन भएसँगै उनी लोसपामा गएका हुन्।

विमल श्रीवास्तवसँगै लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया पनि एमालेसँगकै छलफलमा छन्। एमालेका नेताहरूका अनुसार जसपाका नेता राजकिशोर यादव पनि छलफलमा छन्। उनी जसपाको पछिल्लो विभाजनमा भएका कुनै पनि भेलामा सहभागी भएका थिएनन्।

सेतोपाटीसँग कुराकानी गर्दै यादवले आफू जसपामै रहेको र अन्य पार्टीमा जानेबारे कुनै छलफल नभएको दाबी गरे।

जसपाकै सांसद अमृता अग्रहरी पनि एमालेसँग छलफलमा छन्। रूपन्देहीकी अग्रहरी अहिले पार्टीका बैठकमा गएकी छैनन्।

जसपाको कार्यकारिणी सदस्य बस्न अस्वीकार गरेकी रेणु यादवलाई पनि एमालेले छलफल गरिरहेको छ।

एमाले नेता महेश बस्नेतले आफूहरूले अरू पार्टीका नेताहरूलाई ल्याउनका लागि छलफल गरिरहेको बताए।

‘अहिले कुनै व्यक्तिको नाम भनिहाल्ने अवस्था छैन। हामीले छलफल चलाइरहेका छौं,’ उनले भने, ‘हामीले मधेस केन्द्रित दलका मात्रै होइन। राष्ट्रिय पार्टीका विभिन्न तहका नेताहरूसँग समेत छलफल गरेका छौं। यसको परिणाम छिट्टै आउँछ।’

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराईको बीचमा अन्तरसंघर्ष चुलिएको बेलामा सुरूवाती चरणमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, महेन्द्र राय यादव लगायतका बहुमत सांसदहरू भट्टराईको पक्षमा थिए। त्यो बेलामा समेत भट्टराईको पक्षमा रहेका धेरै नेताहरू सूर्य चिन्ह लिएर निर्वाचन लड्ने गरी छलफल भएको स्रोतको दाबी छ।

त्यसो त एमाले अध्यक्ष केपी ओलीले आफू सत्तामा रहँदासमेत मधेस केन्द्रित दलहरूलाई केन्द्रित गरेर दल विभाजनमा सहज हुनेगरी अध्यादेश ल्याएका थिए।

२०७६ वैशाखमा ल्याएको त्यही अध्यादेशका कारण उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटको अवस्थामा पुगेको थियो। तर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) मिलेर जनता समाजवादी पार्टी(जसपा) बनेपछि भने विभाजन रोकिएको थियो।

त्यसपछि पनि ओलीले जसपालाई विभाजन गर्ने प्रयास गरेका थिए। २०७८ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उनले तत्कालीन जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहितका बहुमत नेताहरूलाई आफ्नो पक्षमा ल्याएका थिए।

ओलीको प्रयास असफल भएपछि मात्रै जसपाको सत्ता उपेन्द्र यादवसँग आएको हो। अहिले पनि लोसपा सत्ता गठबन्धनमा आउन खोजिरहेको छ। सत्ता गठबन्धनमा आएसँगै मधेस प्रदेशमा निर्वाचन क्षेत्र बाँडफाँटमा समस्या पर्ने निश्चित छ।

मधेस प्रदेशका ३२ क्षेत्रमध्ये २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्रै १९ ठाउँमा जितेको थियो। यस्तो अवस्थामा निर्वाचन क्षेत्र बाँडफाँटमा समेत छुटेका नेताहरूलाई एमालेले तान्न खोजिरहेको छ।

साताकाे चर्चित
सम्बन्धित