शाहरुख खानको फिल्म ‘पठान’ विवादमा, बहिष्कारको माग
शाहरुख खानको फिल्म ‘पठान’ विवादमा, बहिष्कारको माग

शाहरूख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ आगामी वर्षको सुरूमा रिलिज हुँदैछ।

    • बेल संचार

    • २९ श्रावण २०७९, आईतवार

सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा फिल्म बहिष्कार गर्ने चलन अझै रोकिएको छैन।

हालै यो बहिष्कारको शिकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले व्यहोरेका छन्।

यी दुवै चलचित्र हलमा रिलिज भए पनि रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार सुरू भएको थियो। दुबै चलचित्र बहिष्कारको असर उनीहरुको कलेक्शनमा पर्‍यो। ठूलो लगानीमा बनाएका यी फिल्मले सोचेजस्तो सफलता पाएनन्। अब बलिउड किङ शाहरुख खानको फिल्म ‘पठान’ को नाम पनि यो बहिष्कारको ट्रेन्डमा परेको छ।

शाहरूख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ आगामी वर्षको सुरूमा रिलिज हुँदैछ। तर, सामाजिक सञ्जालमा भने चलचित्र बहिष्कार सुरू भइसकेको छ। ह्यासट्याग बाइकटपठान ट्वीटरको ट्रेन्डिङमा छ।

यसरी रिलिज हुनुअघि नै फिल्म बहिष्कार गरेकोमा निर्माता निकै आक्रोशित भएका छन्। शाहरूख खानको फिल्म बहिष्कार गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन, तर केही भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री दीपिका पादुकोण जेएनयु जाने मुद्दालाई लिएर मानिसहरू आक्रोशित भएका हुन्।

अभिनेत्री दीपिका पादुकोण शाहरूख खानको फिल्म ‘पठान’ मा मुख्य भूमिकामा देखिनेछिन्। यसका अलावा फिल्ममा आशुतोष राना, डिम्पल कपाडिया र जोन अब्राहम जस्ता कलाकार छन्।

हालै हातमा बन्दुक बोकेकी दीपिका पादुकोणको लुक सार्वजनिक भएको थियो। ‘पठान’ बाट दीपिकाको लुक हेर्दा यो फिल्म एक्सनले भरिपूर्ण हुने देखिन्छ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको शाहरूख खानको फिल्म जनवरी २५, २०२३ मा रिलिज हुँदैछ।

साताकाे चर्चित
सम्बन्धित