भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरू गरिसकेको बताएकी छन्।
कैलालाीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को वादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरूको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरू गरेको बताइन्।
मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको हक अधिकार स्थापित गर्न भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको बताइन्।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन्।
उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनी रूपमा जग्गाको मालिक बनाइएको बताइन्।
मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र दुई वार्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन्।
उनले २०४९ सालभन्दा अगाडि विभिन्न साझा संस्थामा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरूको ऋण मोचन गर्न अफू लागि परेको पनि बताइन्।