तनहुँ
यहाँको प्रसिद्व धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा भक्तजनको आस्था बढ्दै गएको पाइन्छ । मनले आँटेको र चिताएको मनोकाङ्क्ष पूरा भएपछि भाकल बुझाउन भक्तजनको दैनिक मन्दिरमा भीड लाग्ने गरेको छ ।
पोखराबाट बुधबार भाकल बुझाउन आउनुभएकी दुर्गा गौतमले मनले मागेको मनोकाङ्क्षा पूरा भएपछि देवीलाई भाकल बुझाउन मन्दिर आएको बताउनुभयो । “पहिलो पटक छाब्दी बाराही मन्दिरमा आएको हुँ”, उहाँले भन्नुभयो, “छोराको राम्रो होस् भनी मनैदेखि कामना गरेकोमा पूरा भएपछि खुसीले बोका पाठो ल्याएर भाकल बुझाउन आएका हौं ।”
सदरमुकाम दमौली बजारदेखि करिब सात किलोमिटर पूर्वमा छाब्दी बाराही मन्दिर अवस्थित छ । दमौलीदेखि छाब्दी मन्दिरसम्म नै सडक कालोपत्रे गरिएकाले बसको यात्रामा करिब २० मिनेटमा सहजै मन्दिरसम्म पुग्न सकिन्छ । उक्त मन्दिर व्यास नगरपालिका–१४ मा पर्दछ । विभिन्न जिल्लाबाट भक्तजन छाब्दी बाराही मन्दिरमा पूजाअर्चना र भाकल बुझाउन आउने गर्दछन् । पृथ्वी राजमार्गदेखि नजिक दूरीमा छाब्दी बाराही मन्दिर पर्ने भएकाले पोखरा–काठमाडौँ यात्रा गर्ने यात्रुका लागि गन्तव्यस्थल बन्दै गएको छ ।
शनिबारको दिन एक हजारभन्दा बढी भक्तजन आउने गरेको छाब्दी बाराही मन्दिरका मुख्य पुजारी चोलबहादुर आलेले जानकारी दिनुभयो । उक्त दिन चारदेखि पाँच जना र अन्य दिनमा दुई पुजारीले पूजापाठ र बलि चढाउने कार्य गर्ने उहाँले बताउनुभयो । आधा रुप देवी र आधा रुप मत्स्यका रुपमा छाब्दी बाराही देवीलाई लिइन्छ । उहाँले भन्नुभयो “मन्दिर परिसरमा रहेका माछा देवीका अवतारका रुपमा मानिन्छन् ।”
सुरुमा खरको छानोबाट सुरु भएको उक्त मन्दिर क्षेत्रमा अहिले पक्की भौतिक संरचना निर्माण गरिएको छ । भक्तजनका लागि लाइनमा बस्ने व्यवस्था, वनभोजस्थल र बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थल व्यवस्थित गरिएको छ । कुखुरा सफाइ गर्दा रु एक सय र बोकाको रु पाँच सय शुल्क व्यवस्था गरिएको छ । दान, दक्षिणा र भेटीबाट सङ्कलन भएको रकमले मन्दिर परिसरमा भौतिक संरचना निर्माण कार्य गर्दै आएको जनाइएको छ ।
मन्दिर परिसरमा करिब रु स्रोह लाखको लागतमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्ण कदको मूर्ति निर्माण गरिएको अर्का पुजारी डोलबहादुर आलेले जानकारी दिनुभयो । वाइके पाण्डेको एकल लगानीमा पुरानो कुण्डलमा मन्दिर निर्माण गरिएको छ । त्यहाँ बिहान बेलुकाको समयमा पुजारीले नित्य पूजा गर्ने प्रचलन रहेको छ ।
सुरुमा जरसिं आलेले छाब्दी देवीलाई प्रत्यक्ष भेट गरेको किंवदन्ती छ । दैनिक गोठालो जाँदा हालको छाब्दी खोला र कुण्डलमा माछा मार्दै आएका आलेलाई एकदिन साँझ पख गोठको छेउमा आगो तापिरहेको अवस्थामा कलकलाउँदो एक बालिकाको भेषमा बास खोज्न पुगेको बताइएको छ ।
गोठाला आलेले खानेकुरा नभएको र बिहानको बासी भात रहेकाले गाई दूध खाएर बास बस्न आग्रह गरेको किंवदन्ती सुन्न सकिन्छ । साँझ झमक्क पर्दै गएकाले सानो मान्छे कहीँकतै नजान र आफ्नै घरमा बास बस्न आलेले आग्रह गर्नुभएको कुरा अहिले पनि सुन्न सकिन्छ । केही समयपछि म कुण्डलमा बस्छु, मलाई धुपधुमार गरेर पुज्नू भनेर दुई कदम पछाडि फर्केर बालीका बिलिन भएपछि आले झसङ्ग हुँदै निद्राबाट ब्युँझेजस्तो भएको आलेका अहिलेका नयाँ पुस्ताका व्यक्ति बताउँछन् ।
भोलिपल्ट बिहानै उक्त कुण्डमा गई हेर्दा सुन रङको माछा ढुङ्गामा बेरिएर रहेको अवस्थामा देखेपछि अचम्म हँुदै एकाएक बिलिन भएपछि कुण्डलमा रहेका स–साना ढुङ्गा पनि पल्टाएर खोज्ने क्रममा ढुङ्गा पल्टाउनसमेत नसकेपछि देवीको शक्ति रहेछ भनी पूजाअर्चना गर्न थालेको आलेका पुस्ता बताउँछन् । सोही दिनदेखि छाब्दी बाराही मन्दिरमा मगर जातिका व्यक्तिले पूजाअर्चना गर्दै आएको बताइएको छ । सानेबहादुर नेपाली