प्रेमगीत ३ बारे भुवन केसी, सुनिल थापा र शिव श्रेष्ठ के भन्छन्?
प्रेमगीत ३ बारे भुवन केसी, सुनिल थापा र शिव श्रेष्ठ के भन्छन्?

अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रूपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धतासमेत जनाए।

    • Bell Sanchar

    • १३ भाद्र २०७९, सोमबार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताएका छन्।

आईतबार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत ३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रूपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धतासमेत जनाए।

उनले नेपालीभाषी चलचित्रलाई नेपाली सिनेमा हलमा पहिलो प्राथमिकतामा राखेको बताए। उनले नेपाली चलचित्रका निर्माताले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गरे। अध्यक्ष केसीले चलचित्रको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गरे।

उनले चलचित्र व्यवस्थापनका लागि नीति बनाइसकेपछि चलचित्रकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताए।

अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउन आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गरे। उनले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाड भन्दा पनि ठूलो भएको बताए।

कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताको फिल्म अब अन्तर्राष्ट्रियस्तरको बन्ने बताए। उनले प्रेमगीतले यो वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा नेपाली चलचित्र पनि विश्वमा प्रदर्शनी हुने बताए।

वरिष्ठ अभिनेता थापाले चलचित्र सुटिङमा मनसुनको धेरै दुःख सहेर काम गरेको बताए। उनले सुटिङमा सबैले रमाइलो गरेको अनुभव सुनाए। उनले नेपालीको मनभित्र नेपाली चलचित्र नै हुनुपर्ने बताए।

उनले हिन्दीमा डबिङ भएको प्रेमगीत हेर्ने भन्ने कुरा आएकोले नेपाली भाषामै रहेको चलचित्र हेर्न आग्रहसमेत गरे।

कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले सरकारले चलचित्र प्रेमगीत ३ को कर फ्रि गर्न माग गरे। उनले राष्ट्रलाई चिनाउने चलचित्रलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताए। उनले कलाकारलाई सम्मान गर्ने हो भने अग्रज कलाकारबाट सम्मान गर्नुपर्ने बताए।

उनले मनाङमा पुगेर प्रेमगीत ३ को सुटिङ गर्दा निर्माता टिमले अभिभावकको जसरी कलाकारहरुलाई ध्यान दिएको बताए।उनले मातापिताको जस्तो अभिभावकीय भूमिका निर्माण पक्षले गरेको भन्दै प्रशंसा गरे।

नेपाली चलचित्र प्रेमगीत ३ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनी हुँदैछ। साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।

चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका  कलाकारको मुख्य अभिनय छ।

हेर्नुहोस् फिल्मको टिजर नेपाली र हिन्दीमा

साताकाे चर्चित
सम्बन्धित