काठमाडौं-३ मा कुलमान वा रवि उठे सहयोग गर्न तयार छु: हरिशरण लामिछाने
काठमाडौं-३ मा कुलमान वा रवि उठे सहयोग गर्न तयार छु: हरिशरण लामिछाने

त्यस्तो सहयोगका लागि कुलमानले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने उनको भनाइ छ।

    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

काठमाडौं क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हरिशरण लामिछानेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ वा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सो क्षेत्रमा उम्मेदवारी दिए आफूले सहयोग गर्ने बताएका छन्।

बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले कुलमान घिसिङ चुनाव उठ्न लागेको भन्ने खालका समाचार आएका र ती समाचार सही भए आफूले दाबी गरेको क्षेत्रमा त्याग गर सहयोग गर्न तयार रहेको बताएका हुन्।

त्यस्तो सहयोगका लागि कुलमानले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने उनको भनाइ छ।

लामिछानेले लेखेका छन्- सामाजिक सञ्जालमा आएको समाचार सही हो र काठमाडौं-३ बाट कुलमान घिसिङजी माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाईंलाई पूरा सहयोग मिल्छ, तर  ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस्।

आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ।

तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तयार छु।

आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु।

कुनै अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र-पथ’मा आउनुस् कुलमान सर, अर्को इतिहास कोरिने छ।

यदि यो समचार गलत हो भने मान्नुस्, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तानाबाना बुनिँदै छ। समय अझै छ। चेतना भया!

रेडियो नेपालमा समाचार प्रमुख रहेका हरिशरणले यसअघि नै आफ्ना भाइ रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा नजाने घोषणा गरेका छन्।

रविले अहिलेसम्म कुन ठाउँबाट चुनाव लड्ने हो भन्ने कुरा सार्वजनिक रूपमा भनिसकेका छैनन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई काठमाडौं- ३ मा उम्मेदवार बनाउने चर्चा माओवादी वृत्तमा छ।

घिसिङले भने चुनाव लड्ने/नलड्नेबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

साताकाे चर्चित
सम्बन्धित