क्षमता अभिवृद्धि गर्न सेजन र बारबीच सम्झौता   
     क्षमता अभिवृद्धि गर्न सेजन र बारबीच सम्झौता   

सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गर्नुभयो ।    

    • बेल संचार

    • १५ भाद्र २०७९, बुधबार

काठमाडौँ, 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यावसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ । बार एशोसिएसनको कार्यालय रामशाहपथमा आज एक कार्यक्रमका बीच द्विपक्षीय सम्झौता गरिएको हो । सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गर्नुभयो ।

आर्थिक तथा व्यावसायिक कानूनका विषयमा सेजनका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्ने तालिममा एशोसिएशनको तर्फबाट स्रोत व्यक्ति उपलब्ध गराउनेबारे द्विपक्षीय सम्झौतामा उल्लेख छ । तालिमका लागि स्रोत व्यक्तिका रुपमा अर्थ क्षेत्रसँग सम्बन्धित विज्ञ वरिष्ठ अधिवक्ताहरू बार एशोसिएसनले उपलब्ध गराउने भने अन्य व्यवस्थापन सेजनले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बार एसोसियसनका बागमती प्रदेश उपाध्यक्ष हर्कबहादुर रावलले यस्ता किसिमका क्षमता विकास कार्यक्रमले समग्र आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । “मुलुकको आर्थिक सामाजिक विकासमा प्रोफेसनल संस्थाबीचको सहकार्यले महत्वपूर्ण योगदान गर्छ”, उपाध्यक्ष रावलले भन्नुभयो ।
बारकी महासचिव अन्जिता खनालले सेजनसँगको सहकार्यले बारलाई समेत सम्बन्धित विषयका विज्ञको रोष्टर तयार पार्न सहयोग पुग्ने बताउनुभयो । यो सहकार्यको सुरुआत भएको भन्दै आगामी दिनमा अझ बढी सहकार्यका ढोका खुल्ने उहाँको भनाइ थियो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारलाई आर्थिक तथा व्यावसायिक कानूनको रिपोर्टिङ तथा सम्पादन गर्न यो तालीम महत्वपूर्ण सावित हुने बताउनुभयो । “आर्थिक कानूनका विषयमा पत्रकारको क्षमता विकासले पत्रकारिताको गुणस्तर विकास हुन्छ, जसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नसक्छ”, अध्यक्ष बरालले भन्नुभयो । पत्रकारले सिक्दा सही समाचार सम्प्रेषण हुने र यसले समाचारको गुणस्तर एवं विश्वसनीयता समेत बढाउने उहाँले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित