पाँचखाल बृहत् खानेपानी ः समयमै आयोजना सक्न मुस्किल   
पाँचखाल बृहत् खानेपानी ः समयमै आयोजना सक्न मुस्किल   

आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो ।    

    • Bell Sanchar

    • १६ भाद्र २०७९, बिहीबार

काभ्रेपलाञ्चोक, 
पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो ।

निर्माण कम्पनीले खानेपानी वितरणका लागि पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । केही स्थानमा पाइप विछ्याउने तथा धारा वितरणका क्रममा विवाद भएको छ । विसं २०७६ भदौमा सम्झौता भएको आयोजना आउँदो पुस महिनामा सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो ।

निर्धारित समयमा आयोजनाको आयोजना सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई पछिल्लो समय तीव्र पारिएको हो ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका साथै सडक निर्माणको काम भइसकेको छ । हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको लामछिानेले बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोशी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पु¥याएका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

सरकारले चालू आवको बजेट वक्तव्यमा २०७९ भित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने उल्लेख छ । परियोजनाको २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोत्ताबीच सम्झौता गरिएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले गरिरहेका छन् ।

यसैबीच खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीले आयोजना अनुगमनका क्रममा सरकारले दिएको समय सीमाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्नसमेत निर्देशन दिनुभएको छ । खानेपानी आयोजना रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने सम्झौता भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित