नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा उम्मेदवारका लागि राजन भट्टराईलाई सिफारिस गरेको छ।
उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो।
अर्का दाबेदार निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार रहेका भट्टराईको नाम एकल सिफारिस भएको हो।
२०७४ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका भट्टराई कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए।
यस्तै क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सर्वसम्मत सिफारिस भएको छ। उनी २०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका हुन्।
क्षेत्र नम्बर २ बाट मणिराम फुयाल, क्षेत्र नम्बर ३ बाट कृष्ण राई र क्षेत्र नम्बर ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ।
काठमाडौंका अरू क्षेत्रमा भने एकभन्दा बढीको नाम सिफारिस भएको छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस भएको छ भने विद्यासुन्दर शाक्य, रघुजी पन्तको नाममा छलफल भएको थियो।
र क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र नवराज भट्टको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जनको नाम सिफारिस भएको छ।
एमालेको क्षेत्रीय कमिटीले पठाएको नाम जिल्ला कमिटीबाट प्रदेश हुँदै केन्द्रसम्म आइपुग्छ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले भदौ २० गते यी नामहरूमा छलफल गरेर प्रदेश कमिटीमा जानकारी दिए।
‘क्षेत्रीय कमिटीले पठाएका नाममा तलमाथि हुन सक्छ। हामी छलफल गरेर प्रदेशमा पठाउँछौं,’ निरौलाले भने,‘प्रदेशले पनि छलफल गरेर केन्द्रमा पठाउँछ।’