मूल्य पाएन अकबरे खुर्सानीले  
  मूल्य पाएन अकबरे खुर्सानीले  

अरु बेला यो मौसममा अकबरे एक केजीको रु चार सयदेखि रु पाँच सयसम्म पथ्र्याे । तर, अहिले एक केजीको रु एक सय ५० देखि बढीमा रु दुई सयसम्ममा बेच्न किसान बाध्य भएका छन् ।    

    • बेल संचार

    • १६ भाद्र २०७९, बिहीबार

म्याङ्लुङ

प्रमुख नगदे बालीका रुपमा लिइने अकबरे खुर्सानीले उचित मूल्य नपाउँदा यहाँका किसान मारमा परेका छन् ।

अरु बेला यो मौसममा अकबरे एक केजीको रु चार सयदेखि रु पाँच सयसम्म पथ्र्याे । तर, अहिले एक केजीको रु एक सय ५० देखि बढीमा रु दुई सयसम्ममा बेच्न किसान बाध्य भएका छन् ।

छथर गाउँपालिका–६ सुदापका किसान शेरबहादुर पौडेलले अघिल्लो वर्ष यही सिजनमा अकबरे प्रतिकिलो रु दुई सय ५० भन्दाबढीमा बेच्नुभएको थियो । यो वर्ष उहाँले प्रतिकिलो रु एक सय ५० भन्दा बढीमा बेच्न पाउनुभएको छैन ।

“खोई यो साल त अकबरेको भाउ पो छैन”, पौडेलले भन्नुभयो, “अहिले अघिल्लो सालको भन्दा यस वर्ष अकबरे पनि बढी फलेको छ ।

त्यही भएर कसैले खुर्सानीको भाउँ नै लगाउँदैनन् ।”

अरुबेला तेह्रथुमको वसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङ्लुङ, शुक्रबारे बजारमा अकबरे किन्नेको भीड नै लाग्थ्यो ।

आजभोलि बजारमा अकबरे किन्ने पनि छैनन् । बारीमै कुहिने डरले पनि सस्तोमा बेच्नुपरेको अर्का किसान खगेन्द्र मगरको भनाइ छ ।

आर्थिक वर्ष २०७८÷७९ मा तेह्रथुम जिल्लामा २९ हेक्टर क्षेत्रफलमा चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे उत्पादन भएको थियो ।

तथ्याङ्कमा अघिल्लो वर्ष उत्पादन घटेको भए पनि समयमै पानी परेकाले यो वर्ष उत्पादन बढ्ने अनुमान गरिएको छ ।

यो वर्ष अधिकरुपमा अकबरे फलेका कारण पनि बजार मूल्य कम भएको हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनाल बताउनुहुन्छ ।

बर्सेनि अकबरे उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र भण्डारणका लागि सरकारले चासो दिएको छैन ।

पूर्वी पहाडी जिल्लामा अकबरेको उत्पादन र व्यापार राम्रो भए पनि किसानले उत्पादन गरेका खुर्सानीको भण्डारण र उचित बजारको प्रबन्ध कसैले गरेको छैनन् ।

नेपालका सबै भूभागमा अकबरेको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ ।

खाना पचाउने, माइग्रेन, कोल्ड फ्लु भएकालाई पनि राहत दिने तथा हाडजोर्नीमा हुने दुखाइ कम गराउने आदि फाइदा भएका कारण पनि अकबरे प्रायःमानिसले मन पराउँछन् ।

कृषि ज्ञान केन्द्रले पनि अहिलेसम्म अकबरेको बजार व्यवस्थापन वा यसको विस्तारका लागि कुनै कार्यक्रम ल्याएको छैन ।

व्यावसायिकरुपमा अकबरे खेती गर्ने किसानले अनुदानको माग गरेका छैनन् ।

जसले गर्दा पनि अनुदानको कार्यक्रम ल्याउन नसकिएको सूचना अधिकृत खनालको भनाइ छ । बाला भट्टराई

साताकाे चर्चित
सम्बन्धित