गोरखा १ मा पुष्पकमल दाहाल प्रचण्ड, २ बाट नारायणकाजी उम्मेदवार सिफारिस
गोरखा १ मा पुष्पकमल दाहाल प्रचण्ड, २ बाट नारायणकाजी उम्मेदवार सिफारिस

यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्।

    • बेल संचार

    • १७ भाद्र २०७९, शुक्रबार

नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ।

यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्।

आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए।

माओवादी केन्द्र गोरखाले भने अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए।

यीबाहेक इच्छुक अन्य नेता, कार्यकर्ताका नामसमेत समावेश गरी केन्द्रमा उम्मेदवार सिफारिस गरिने माओवादी केन्द्र गोरखाका नेता लेखबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्।

२०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए।

त्यसबेला नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेका थिए। बाबुरामले मंसिर ४ मा हुने चुनावमा हँसिया हतौडाबाट चुनाव उठ्ने तयारी गरेका छन्। बाबुरामले गोरखा २ बाट उठ्ने बताइरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित