भूतपूर्व सैनिक नेपाल–भारत सम्बन्धको आधारस्तम्भ   
     भूतपूर्व सैनिक नेपाल–भारत सम्बन्धको आधारस्तम्भ   

भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायत सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उहाँले बताउनुभयो ।    

    • बेल संचार

    • २२ भाद्र २०७९, बुधबार

गण्डकी,
भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देश बीचको सम्बन्धको आधारस्तम्भका रुपमा रहेको बताउनुभएको छ ।

नेपाल भ्रमण रहनुभएका पाण्डेले पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कर्तव्यनिष्ठता, इमान्दारिता नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उहाँले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताउनुभयो । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायत सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उहाँले बताउनुभयो ।

भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उहाँले जानकारी दिनुभयो । नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहजरुपमा आवतजावत गर्दै आएको सेनाअध्यक्ष पाण्डले बताउनुभयो ।

सो अवसरमा उहाँले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेको सैनिकका परिवारजनलाई नगद चेक तथा सामग्री हस्तान्तरण गर्नुभयो । साथै उहाँले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीनवटा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित