रणबीर-आलिया स्टारर फिल्म ब्रह्मास्त्र आगामी शुक्रबारबाट रिलिज हुँदैछ।
फिल्मको अग्रिम बुकिङ भदौ १७ गते शुक्रबारबाट सुरू भएको हो। अग्रिम बुकिङमा ब्रम्हास्त्रले कीर्तिमानी बुकिङ गरेको छ।
पछिल्लो समय दुई ठूला बजेटका सिनेमा चल्न नसकिरहेको बेला ब्रम्हास्त्रले यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने देखिएको छ।
फिल्मको पहिलो दिनका लागि ३ वटा राष्ट्रिय चेनमा १ लाख ५० हजारभन्दा बढी टिकट अग्रिम बिक्री भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पहिलो दिनसँगै ब्रह्मास्त्रको सप्ताहन्तको टिकट पनि तिव्र रूपमा बिक्री भइरहेको छ। विकेन्डका लागि अहिलेसम्म फिल्मको २ लाख टिकट अग्रिम बिक्री भइसकेको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
कोरोनाको समयदेखि नै बलिउड फिल्मले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकिरहेका छैनन्। यसअघि, सबैभन्दा ठूलो ओपनिङ फिल्म ८३ को थियो, जसले पहिलो दिन १ लाख १७ हजार टिकट बिक्रि भएको थियो। यस्तो अवस्थामा ब्रह्मास्त्रले यो रेकर्ड सजिलै तोड्नेछ।
बलिउड फिल्मको कुरा गर्ने हो भने सन् २०२२ को सबैभन्दा ठूलो अग्रिम बुकिङ ग्रस कलेक्सिनको कीर्तिमान भुलभुलैया-२ को नाममा थियो, उसले ९२ हजार अग्रिम टिकट बिक्री गरेको थियो। यस्तै एस राजामौलीको राम चरण र जूनियर एनटीआर स्टारर आरआरआरले करिब ७२ हजार अग्रिम टिकट बिक्री गरेको थियो।
रणवीरको यो फिल्म एडभान्स बुकिङबाट सबैभन्दा धेरै कमाउने फिल्म बन्ने देखिएको छ। कार्तिकेयले ओपनिङमा १४ करोडको व्यापार गरे पनि ब्रह्मास्त्रको ओपनिङ डे कलेक्सन २५ देखि ३० करोडसम्म हुने अनुमान गरिएको छ।
केजीएफ च्याप्टर २ सन् २०२२ को सबैभन्दा ठूलो फिल्म हो। फिल्मले पहिलो दिन ५४ करोड कमाएको थियो, जुन रेकर्ड तोड्न गाह्रो छ। तर अग्रिम बुकिङलाई हेर्दा ब्रह्मास्त्रले आरआरआरको ओपनिङ डेको कीर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ।
आरआरआरले आफ्नो ओपनिङ डेमा २० करोड कलेक्सन गरेको थियो, त्यसैले आरआरआरको यो रेकर्ड पूर्ण रूपमा तोड्ने अपेक्षा गरिएको छ।
कोरोनाको समयअघि धेरै फिल्मले राम्रो ओपनिङ पाएका थिए। जसमा मिशन मंगल, टाइगर जिन्दा है, सञ्जु, दंगल र सुल्तान छन्। यस्तो अवस्थामा रणवीरको फिल्म सञ्जुभन्दा ब्रह्मास्त्रको ओपनिङ राम्रो हुने अनुमान गरिएको छ।
रणबीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन र मौनी रोयको मुख्य अभिनय रहेको फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन्।
शुक्रबार ब्रह्मास्त्र एकल रिलिज भएसँगै यसले विश्वभर सबैभन्दा धेरै स्क्रिनसमेत प्राएको छ।
२ घन्टा ४६ मिनेट ५४ सेकेन्डको सिनेमालाई केन्द्रीय बोर्ड अफ फिल्म सर्टिफिकेशनले यु/ए प्रमाणपत्र दिएको छ।
४०० करोडभन्दा बढी बजेटमा बनेको यो फिल्म बलिउडको अहिलेसम्मकै महँगो फिल्म हुनेछ। बलिउड हंगामाका अनुसार ब्रह्मास्त्रको आधिकारिक बजेट छपाई र प्रचार खर्चबाहेक ४१० करोड भारतीय रूपैयाँ छ।