एप्पलले ल्यायो चार मोडलका आइफोन-१४, यस्ता छन् फिचर (भिडिओ)
एप्पलले ल्यायो चार मोडलका आइफोन-१४, यस्ता छन् फिचर (भिडिओ)

आइफोन-१४ फाइभ-जी फोन हो। यो पाँच रङमा उपलब्ध हुनेछ- कालो, निलो, स्टारलाइट, बैजनी र रातो।

    • Bell Sanchar

    • २३ भाद्र २०७९, बिहीबार

अमेरिकी टेक कम्पनी एप्पलले बुधबार राति नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। कम्पनीले हरेक वर्ष सेप्टेम्बरमा नयाँ उत्पादनहरू सार्वजनिक गर्दै आएको छ।

बुधबार कम्पनीले ‘फार आउट’ लाइभ कार्यक्रम गर्दै चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो।

कम्पनीले आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो, आइफोन-१४ प्रो म्याक्स, एप्पल वाच सिरिज-८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो-२ सार्वजनिक गरेको छ।

आइफोन-१४ र आइफोन-१४ प्लसः

आइफोन-१४ फाइभ-जी फोन हो। यो पाँच रङमा उपलब्ध हुनेछ- कालो, निलो, स्टारलाइट, बैजनी र रातो।

यसको ब्याट्री पहिलेभन्दा राम्रो भएको कम्पनीको भनाइ छ।

यी दुवै फोनको डिजाइन आइफोन-१३ को भन्दा धेरै फरक छैन। यिनमा चिपसेट पनि पहिलेकै छ। कम्पनीले यसपालि आइफोनको मिनी संस्करण भने ल्याएको छैन।

यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन्।

आइफोन-१४ र आइफोन-१४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। कम्पनीका अनुसार क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ।

यसमा आपतकालीन समयका लागि ‘इमरजेन्सी एसओएस’ फिचर छ। यसले फोनमा सिग्नल नभएका बेला स्याटलाइटमार्फत् सन्देश पठाउने सुविधा दिने बताइएको छ। मोबाइलको एन्टेनाले स्याटलाइट फ्रिक्वेन्सीसँग कनेक्ट गर्नेछ। कम्पनीका अनुसार आकाश सफा भएका बेला यसले १५ सेकेन्डमै सन्देश पठाउन सक्छ।

आइफोन-१४ को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ।

आइफोन-१४ प्लसको भने ठूलो छ, ६.७ इन्चको।

आइफोन-१४ प्लसमा अहिलेसम्मका सबै आइफोनको तुलनामा सबभन्दा राम्रो ब्याट्री भएको कम्पनीले दाबी गरेको छ।

आइफोन-१४ को मूल्य ७९९ डलर र आइफोन-१४ प्लसको ८९९ डलर तोकिएको छ।

आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सः

आइफोन-१४ प्रो र प्रो म्याक्समा आइफोन-१४ मा भएका फिचरसँगै अरू धेरै नयाँ फिचर छन्।

यसको डिस्प्ले सधैं ‘अन’ हुने गरी बनाइएको छ। नचलाउँदा पनि यो ‘अफ’ हुँदैन।

तीन वटा क्यामरा भएको यसमा अहिलेसम्मकै धेरै क्षमताको ४८ मेगापिक्सलको मुख्य क्यामरा छ।

यो गाढा बैजनी, सिल्भर, गोल्ड र कालो गरी चार रङमा उपलब्ध छ। यसको चिपसेट आइफोन १४ र आइफोन १४ प्लसको भन्दा परिस्कृत छ।

आइफोन-१४ प्रोको स्क्रिन ६.१ इन्च छ भने प्रो म्याक्सको ६.७ इन्च छ।

आइफोन-१४ प्रोको मूल्य ९९९ डलर र प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ।

नयाँ आइफोनहरूमा सेरामिक शिल्ड छ जुन अरू फोनको भन्दा एकदमै बलियो भएको कम्पनीको दाबी छ।

धेरैले आइफोनको मूल्य यसपालि बढ्ने अनुमान गरे पनि कम्पनीले पहिलेकै हाराहारीमा मूल्य तोकेको छ।

त्यस्तै अमेरिकामा आइफोन-१४ का मोडलमा सिम कार्ड राख्ने ठाउँ छैन। यसमा डिजिटल इ-सिम कार्ड हुने कम्पनीले बताएको छ। अरू देशमा पठाइने मोडलमा भने के हुनेछ भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिइसकेको छैन।

एप्पल वाचः 

कम्पनीले यो वर्ष तीन मोडलका घडी सार्वजनिक गरेको छ- एप्पल वाच सिरिज-८, एप्पल वाच अल्ट्रा र एप्पल वाच एसइ।

कम्पनीका अनुसार सिरिज-८ को नयाँ एप्पल घडीमा अत्याधुनिक फिचरहरू छन्।

सिरिज-८ को एप्पल घडीको डिजाइन सिरिज-७ कै जस्तो छ। हेर्दा उस्तै देखिए पनि यसको डिस्प्ले पहिलेभन्दा ठूलो र बिटमा घुमाउरो छ।

यसको डिस्प्लेको सतह पनि फराकिलो छ जुन सधैं ‘अन’ हुने गरी बनाइएको छ। यो घडी पौडी खेल्दा पनि लगाउन मिल्छ। त्यस्तै यो चर्किँदैन वा टुटफुट हुँदैन।

नयाँ एप्पल वाचमा शरीरको तापक्रम नाप्ने सेन्सर छ जुन महिलाहरूको स्वास्थ्यलाई लक्षित गरिएको हो। यसले हरेक ५ सेकेन्डमा शरीरको तापक्रम मापन गर्छ र आवश्यकताअनुसार सूचना र संकेत दिन्छ। यही फिचरबाट महिलाहरूको महिनावारीको मिति पनि आकलन गर्छ।

यसले मुटुको चालको पनि निगरानी राख्छ। यसबाहेक फिटनेस, आपतकालीन कल सेवाहरू र रगतमा अक्सिजनको मात्रा कति छ भन्नेसहितका विस्तृत स्वास्थ्य विवरण यसमा राख्न सकिन्छ।

यसमा पनि दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ।

एकपटक पूरा चार्जमा यो घडी ३६ घन्टासम्म चल्न सक्छ। पहिलेका घडी १८ घन्टा मात्र चल्थे।

जिपिएस भएको मोडलको मूल्य अमेरिकी डलर ३९९ छ भने सेलुलर मोडलको ४९९ डलर पर्नेछ।

एप्पल वाचको अल्ट्रा संस्करणको भने बाहिरी स्वरूप अलि बेग्लै छ। यसलाई ‘फंकी’ स्वरूपको भनिएको छ। यो विशषगरी हाइकिङ र खेलकुदका क्रममा लगाउन लक्षित गरिएको छ। खेलाडीहरू र पानीमा धेरैबेर रहेर खेलिने खेलहरूका लागि यो उपयुक्त छ।

यसको कम्पास पनि पहिलेभन्दा सुधारिएको छ जसले अझ स्पस्ट दिशा संकेत गराउँछ। यसको डिस्प्ले चमक अरू एप्पल वाचको भन्दा धेरै छ। त्यस्तै कम्पनीले यसका लागि चाँडै सफ्टवेयर ल्याउने छ जसबाट यसको ब्याट्री ६० घन्टासम्म धानिने हुनेछ।

यो मोडलको घडीको मूल्य ७९९ डलरबाट सुरू हुन्छ।

एप्पल वाच एसइ भने सस्तो छ जसको मूल्य २४९ डलरबाट सुरू हुन्छ। यो सिरिज-८ कै सस्तो संस्करण हो।

एयरपड्सः

कम्पनीका अनुसार नयाँ एयरपड्समा पहिलेभन्दा स्पष्ट आवाज सुनिनेछ। त्यस्तै एयरपड्स एप्पल वाच चार्जरले नै चार्ज गर्न सकिनेछ।

यसको मोडल पनि पहिलेको भन्दा केही फरक छ। यसमा भोल्युमका लागि नयाँ टच कन्ट्रोल छ। त्यस्तै ६ घन्टासम्म ब्याट्री टिक्छ।

नयाँ एप्पल एयरपड्स प्रो-२ को मूल्य २४९ डलर तोकिएको छ।

साताकाे चर्चित
सम्बन्धित