चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन
चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।

    • Bell Sanchar

    • २६ भाद्र २०७९, आईतवार

 

पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् । स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताउनुभयो । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उहाँको भनाइ छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।

भरतपुर–१६ मोहनपुरमा जग्गा भाडामा लिएर २८ लगानीकर्ताको रु १० करोडभन्दा बढी लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष सुनीलकुमार यादवले बताउनुभयो । अहिले उद्योगले घरायसी प्रयोजनका लागि डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेको भए पनि चाँडै नै उद्योग तथा व्यवसायसहित सम्पूर्ण स्थानमा प्रयोग हुने गरी उत्पादन थालिने उहाँको भनाइ छ । उद्योगको अहिले दैनिक दुई हजार पाँच सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उहाँले जनशक्ति थप गरेर उत्पादनसमेत वृद्धि गरिने जानकारी दिनुभयो ।

उद्योगले पहिलो चरणमा नौ थरिका स्वीच बोर्ड बजारमा ल्याएको छ । अध्यक्ष यादवले फरक दुई आकारका आकर्षक स्वीच बोर्ड उत्पादन भएको जानकारी दिनुभयो । करिब पाँच वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको जनाइएको छ । विसं २०७४ मा कलेजको बीई अन्तिम वर्षको ‘प्रोजेक्ट वर्क’ गर्दा माडीका जीवन दबाडी, सप्तरी राजविराजका सुनिलकुमार यादव र बारा निजगढका सागर तिमिल्सिनाको समूहले स्वीच बोर्डको अवधारणाबारे ‘प्राजेक्ट’ बनाउनुभएको थियो ।

अध्ययनकै सिलसिलामा सिकेका कुरालाई व्यवहारमा उतार्न उद्योगको रूप दिइएको उहाँहरूको भनाइ छ । उद्योगका उत्पादन प्रमुख दबाडीले फाइभ जी टेक्नोलोजीमा आधरित स्वीच बोर्डले विस्तारै उपभोक्ताको मन जित्ने बताउनुभयो । बत्ती, पङ्खा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा तयार रहेका स्मार्ट स्वीच बोर्डको बजारीकरण कार्य शनिबारदेखि नै सुरु भएको जनाइएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विद्युतीय बजारमा नयाँ प्रविधि भित्रिएको बताउनुभयो । आर्थिक केन्द्रका रूपमा विकास भइरहेको चितवनबाटै पहिलोपटक स्मार्ट स्वीच बोर्डको व्यावसायिक उत्पादन सुरु हुनु खुसीको कुरा भएको उहाँको भनाइ छ । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले घरायसी तथा उद्योग, व्यवसायमा नयाँ प्रविधिको आवश्यकता भएको बताउनुभयो । स्मार्ट स्वीचले सहजता ल्याउने उहाँको भनाइ छ ।

नेपाल विद्युत् व्यवसायी महासङ्घ नेपालका निर्वतमान अध्यक्ष तेजनारायण खरेलले आंशिकरूपमा नेपालमा स्मार्ट स्वीच बोर्ड प्रयोगमा आए पनि पहिलोपटक उत्पादन सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । समयसापेक्ष डिजिटल स्वीच बोर्ड उत्पादन चितवनबाट हुनु गौरवको विषय भएको उहाँले बताउनुभयो । बजारीकरणमा विद्युत् व्यवसायीले सघाउने प्रतिबद्धता जनाउनुभयो । उत्पादित डिजिटल स्मार्ट स्वीच बोर्डको रु चार हजारदेखि आठ हजार पाँच सयसम्म रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित