नेपालगन्जमा कवि डा. निरज भट्टराईको एकल कविता तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ।
मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको कविता वाचनको कार्यक्रम ॅकाव्यगन्ज’मा कवि भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरे।
बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकारहरुको ठूलो उपस्थितिमा कवि भट्टराईका कविता र गजल सुनिएका हुन्।
नेपालगन्जमा साहित्यिक कार्यक्रममा यति वृहत सहभागिता भएको दुर्लभ घटना भएको कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले बताए। उनले निरजका शक्तिशाली कविता नेपालगन्जका सबै तप्का सुन्न पाउनु आफैंमा खुसीको कुरा भएको बताए।
डा. निरजका कविता सुनिसकेपछि सहभागीहरुले फरक स्वादका कविता सुन्न पाइएको प्रतिक्रिया दिए। कतिपय सहभागीहरुले वाचनमा निरजका गजलहरुले बढी प्रभावित पारेको बताए।
डा. निरजका कवितामाथि समीक्षक राजकुमार बानियाँ र गजलमाथि खगेन्द्र गिरि ‘कोपिला’ ले टिप्पणी गरेका थिए। बानियाँले निरजको धुवाँको धागो कविता संग्रह पहिलो र एकमात्र कविता संग्रह भए पनि त्यसले उनलाई दिइरहेको पहिचान उल्लेखनीय रहेको बताए।‘कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन’ डा. निरजमा कविता सृजनाको पनि विशिष्ट प्रतिभा रहेको उनले बताए।
उनले डा. निरज कुण्ठाभन्दा माथि हुनेर आत्मानूभूतिका कविता लेख्ने कविको रुपमा रहेका बताए। गजलमाथि टिप्पणी गर्दै समीक्षक खगेन्द्र गिरी ‘कोपिला’ ले डा. भट्टराईको ‘तलाश’ गजल संग्रह नेपाली मानक गजल संग्रह रहेको बताउँदै धेरै गजलकारहरुले उनको शैली पछ्याएको दाबी गरे।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाजले आगामी दिनहरुमा थप व्यवस्थित साहित्यक कार्यक्रमहरु गर्ने योजना रहेको बताएका छन्। ‘काव्यगन्ज’ हरेक चार महिनामा एक पटक आयोजना गर्ने गरि तय गरिएको कार्यक्रम रहेको उनले बताए। यसलाई अब क्रम नटुट्ने गरी निरन्तरता दिइने उनले बताएका छन्।