जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने   
     जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने   

आयात गरिएको औषधि बिक्रीका लागि पसल मात्र खोल्ने नभई यस क्षेत्रका जडीबुटीको सदुपयोग गरी उद्योग सञ्चालन गरेमा त्यसले अर्थतन्त्रलाई बलियो बनाउने उहाँले बताउनुभयो ।

    • Bell Sanchar

    • २६ भाद्र २०७९, आईतवार

गण्डकी, 
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकीको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशमा जडीबुटीको अथाह सम्भावना भएकाले जडीबुटी प्रशोधन गर्ने उद्योगको स्थापना गरिनुपर्ने बताउनुभयो ।

आयात गरिएको औषधि बिक्रीका लागि पसल मात्र खोल्ने नभई यस क्षेत्रका जडीबुटीको सदुपयोग गरी उद्योग सञ्चालन गरेमा त्यसले अर्थतन्त्रलाई बलियो बनाउने उहाँले बताउनुभयो ।

औषधिको मूल्य र गुणस्तरीय वस्तुको नियमनमा राज्यको ध्यान जाने बताउँदै मन्त्री बरालले मानव स्वास्थ्यमाथि कसैले खेलबाड गर्न नहुनेमा जोड दिनुभयो । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरीले व्यवसायीले सदस्यता नवीकरण गर्न अझै काठमाडौँ धाउनुपर्ने अवस्थाका कारण एक हजारको कर तिर्न ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको गुनासो गर्नुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाईंले नेपालमा जडीबुटीमा धेरै सम्भावना भएको दाबी गर्दै यसको संरक्षण र उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित