सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान   
  सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान   

दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।

    • Bell Sanchar

    • २९ भाद्र २०७९, बुधबार

कमलामाई, 
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिनुभयो ।

दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँको भनाइ छ । साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । उहाँले भन्नुभयो, “सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइयो ।”

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन÷तीन जनामा डेङ्गु भाइरसको सङ्क्रमण भएको पाइएको छ । तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन् । केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उहाँले बताउनुभयो । दश डेङ्गुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिनुभयो । यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो ।

डेङ्गुको सङ्क्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उहाँको अनुमान छ । डेङ्गुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन् । स्वास्थ्य कार्यालयको समन्वयमा डेङ्गु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उहाँले बताउनुभयो ।

डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन् । चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

साताकाे चर्चित
सम्बन्धित