झापा,
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको आज प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभएको छ ।
मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वको मुख्य सीमानाकामा आपराधिक घटना बढी हुने हुँदा त्यसलाई रोक्न प्रहरीलाई चनाखो भएर काम लाग्न निर्देशन दिनुभयो । उहाँले चाडपर्व नजिकै जाँदा सीमा क्षेत्रमा हुने चोरी, तस्करीलगायत आपराधिक घटनालाई रोक्न र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध भएर लाग्न जिल्ला प्रहरीका सबै युनिटलाई आग्रह गर्नुभयो । मन्त्री कार्कीले सुविधा सम्पन्न भवन निर्माण भए पनि प्रहरी नायब उपरीक्षकलगायत सबैलाई आवास आवश्यकता भएको हुँदा प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर आवास निर्माणको कामलाई अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा विसं २०२३ मा काँकरभिट्टा सीमानाकामा प्रहरी पोष्ट स्थापना गर्ने पूर्वप्रहरी हवल्दार ८६ वर्षीय बीर्ख गुरुङलाई सम्मान गरिएको थियो ।
प्रहरी उपरीक्षक अनिल राणाले रु दुई करोड ८३ लाख ३४ हजार छ सय ४१ को लगातमा अढाइ तले पक्की भवन निर्माण भएको बताउनुभयो । विसंं २०३७ मा बनेको पुरानो र जीर्ण भएकाले नयाँ भवन बनाइएको उहाँको भनाइ छ । भवनको विसंं २०७५ चैत १९ गते प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको थियो । सुविधा सम्पन्न २२ कोठे पक्की भवनको निर्माणको ठेक्का याक्थुङहाङ एसएस पुस्कर जेभी निर्माण कम्पनीले लिएको थियो ।
विसं २०७६ वैशाख २ गते कम्पनीले विसंं २०७७ साल वैशाख १९ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । यद्यपि कोराना भाइरसका कारण तोकिएको समयमा भवन नबन्दा निर्माण कम्पनीले चौथोपटक म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको जनाइएको छ । भूकम्प प्रतिरोधात्मक भवनबाट सेवा सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो । उहाँका अनुसार कार्यालयको नाममा हाल डेढ बिघा जमिन रहेको छ ।
–––