धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ   

देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।    

    • Bell Sanchar

    • १ आश्विन २०७९, शनिबार

काठमाडौँ, 
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताउनुभएको छ ।

आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रुपान्तरण हुन नसक्ने बताउनुभयो । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले २०७२ सालको भूकम्पका कारण क्षति भएका सबै एतिहासिक सम्पदाको पुनर्निमाणको काम सक्दो छिटो गर्नुपर्ने बताउनुभयो । पुनर्निर्माणका क्रममा कमजोरी भए आगामी दिनमा त्यसलाई सच्याउन आफू तयार रहेको उहाँको भनाइ थियो । उपप्रमुख सुनिता डङ्गोलले सम्पदा संरक्षणका लागि महानगरका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

सो अवसरमा पुरातत्व विभागका प्रमुख दामोदर गौतमले आगामी आर्थिक वर्षसम्म भूकम्पका कारण क्षति भएका ऐतिहासिक संरचनाको पुननिर्माणको काम सम्पन्न हुने जानकारी दिनुभयो । कार्यक्रममा कामपा–१८ का अध्यक्ष न्युछेकाजी महर्जनले सम्पदा रहे मात्र पुरातत्व विभाग रहने भएकाले सांस्कृतिक सम्पदा पुननिर्माणको सम्पूर्ण जिम्मा विभागले लिनुपर्ने बताउनुभयो । भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणका लागि कामपा–१८ र पुरातत्व विभागले करिब रु दुई करोड खर्च गरेको बताइएको छ ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित