युद्धमा भेटिएकी बच्ची र एक सैनिकको वास्तविक कथा, हेर्नुहोस् युट्युबमा
युद्धमा भेटिएकी बच्ची र एक सैनिकको वास्तविक कथा, हेर्नुहोस् युट्युबमा

निमेत सानैदेखि सुलेमानलाई प्रेम गर्छिन्। उनीसँग बिहे गरी जीवन बिताउने सपना देखेकी हुन्छिन्।

    • Bell Sanchar

    • १ आश्विन २०७९, शनिबार

गुड फ्राइडे सिनेमा

यो कथा दोस्रो विश्व युद्धको पाँच वर्षपछिको हो। संसार युद्ध सकेर एक हिसाबले शान्तिपूर्ण जीवन जिउन खोज्दै हुन्छ। दक्षिण कोरिया र उत्तर कोरियाको सीमा क्षेत्रलाई ‘३८ औं पारालाल’ रेखाले छुट्याइसकेको थियो। त्यो सीमा क्षेत्रमा बस्नेहरू पनि शान्तिकै आशामा थिए।

सन् १९५० को जुन महिनाको एक दिन। दक्षिण कोरयाली सीमा क्षेत्रको बस्ती। एउटा खुसहाल परिवार, बाआमा र सानी छोरी। बाले छोरीलाई साइकल बनाइदिएका हुन्छन्।

साइकलमा रमाउँदै गर्दा उनीहरूको खुसी कालो बादल लाग्छ।

एक्कासि बस्तीमा बम आक्रमण हुन्छ। उत्तर कोरियाली सेनाहरू बस्तीमा पसेर एकएक मान्छेलाई गोली हानी मार्छन्। गाउँ नै प्राणबिहीन पार्छन्।

त्यही वर्ष, त्यही महिना, फरक देश। टर्कीको इस्केन्देरून सहर। यहीँ बस्छन् सुलेमान। उनको जीवन पनि खुसहाल हुन्छ। टर्किस सेनामा गाडी मेकानिकका रूपमा काम गर्छन्।

एकदमै दयालु स्वभावका हुन्छन्। जनावरलाई पनि एकदमै धेरै माया गर्छन्। अझ धेरै माया आफ्नी प्रेमिका नुरानलाई गर्छन्।

सुलेमान प्राविधिक भए पनि उनलाई हाकिमले दक्षिण कोरियामा भइरहेको युद्धमा जानुपर्ने भन्छन्। उत्तर कोरियासँगको युद्धमा  सघाउन दक्षिण कोरियालाई अमेरिकाले टर्किस सेना पनि पठाइदिने भनेको हुन्छ। धेरै सेना चाहिने भएकाले सुलेमान पनि जानुपर्ने हुन्छ।

मिजासिलो, सुल्झेको र सरल सुलेमान यसमा कुनै आपत्ति जनाउँदैनन् र खुसीसाथ जान तयार हुन्छन्।
मसारा गाउँमा रहेका उनका आमाबुवा र उनकी बालसखा निमेत यो खबर सुनेर चिन्तित हुन्छन्।
निमेत सानैदेखि सुलेमानलाई प्रेम गर्छिन्। उनीसँग बिहे गरी जीवन बिताउने सपना देखेकी हुन्छिन्।

सुलेमान यी सबै छाडेर दुरको देश दक्षिण कोरियाका लागि हिँड्छन्। युद्धमा होमिन हिँडेका उनको स्वभाव देखेर अर्का सेनाले भन्छन् पनि- कमिला त मार्न चाहँदैन यो, हिँडेको छ युद्धमा!

हुन पनि उनी प्राविधिक सेना हुन्। कमलो मन छ। उनले युद्धमा दुश्मनलाई कसरी मार्लान्? जबसम्म उनको जीवनमा यस्तो परिस्थिति आइपर्दैन, तबसम्म सुलेमानको बहादुरी र चलाखी अरूलाई थाहै हुँदैन।

उनको ठीक विपरीत स्वभाव छ अलीको। सुलेमान र अली एकदमै मिल्छन्। हक्की र तिक्ष्ण सेना हुन् उनी। उनको साथमा सुलेमानलाई कुनै चिन्ता हुँदैन।

युद्ध भूमिमा पुग्नेबित्तिकै उनीहरूलाई अमेरिकाले सबै सम्हालेको र अब खास काम नभएको जानकारी दिइन्छ। अब के गर्ने भन्ने अलमलकै बीच सेनाको क्याम्पमै हमला हुन्छ।

अनि फेरि सुरू हुन्छ युद्ध।

एक रात सुलेमान, अली र अरू केही सेनामाथि हमला हुन्छ। उनीहरू मुश्किलले जोगिन्छन्। चहकिलो जून लागेको त्यो रातमा एउटा अनौठो घटना हुन्छ। अरू सेना नमाने पनि, डराए पनि सुलेमान पछि हट्दैनन्। उनको त्यही कदमले उनलाई सानी कोरियाली बच्चीसम्म पुर्‍याउँछ।

उनी हत्या गरिएका मान्छेका शवको थुप्रोमा रोइरहेकी हुन्छिन्।

सुलेमान उनलाई क्याम्पमै लिएर आउँछन्। उनलाई बच्चीको अनुहार चन्द्रमा जस्तै लाग्छ, अनि चन्द्रमाको उज्यालोमा भेटिएकी भन्दै त्यही अर्थ दिने नाम आयला राखिदिन्छन्।

केही महिना बित्छ। आयला बोल्न सक्दिनन्। तर उनी तेज छिन्। सुलेमानकी मात्र होइन, क्याम्पका सबै सेनाका प्यारी हुन्छिन्। आयला सुलेमानलाई एकैछिन छाड्दिनन्। रगतको नाता नभएका उनीहरू भावनाले गाँसिन्छन् र परिवार बन्छन्।

युद्धमा सघाउन आएका टर्किस सेना हुन् सुलेमान। आयला कोरियाली बच्ची। सुलेमान फर्किनुपर्छ। उनको त्यहाँ परिवार र प्रेमिका छिन्। आयला कोरियामै बस्नुपर्छ। उनको यहाँ कोही छैन। सुलेमान उनलाई छाडेर जान सक्दैनन्।

तर उनीहरूलाई सँगै राख्न न कोरियाले मान्छ न टर्कीले न त अमेरिकाले नै।

क्रुर युद्धका बीचमा फक्रेको सुलेमान र प्रेमले कुन रूप लेला? के सुलेमान आयलालाई छाडेर जालान्? वा उनलाई केही गरी साथ लैजालान्? कि उनीहरू सधैंका लागि अलग हुन्छन्? वा उनीहरूले एकअर्कालाई फेरि भेट्लान्?

‘आयलाः द डटर अफ वार’ ले यही कथा भन्छ।

दक्षिण कोरियाली र टर्किस यो फिल्म सर्जेन्ट सुलेमान र आयलाको जीवनको सत्य घटनामा आधारित हो। आयलालाई भेटेपछि सुलेमानले धेरै कुरा पाउँछन्, केही गुमाउँछन्। सुलेमानले केही गुमाएकै कारण उनका निकटले केही पाउँछन् पनि, जस्तै निमेतले।

कसले के पाउँछ र गुमाउँछ, त्यसका लागि फिल्म हेर्नुहोला।

फिल्मले देखाउने कथा यति मात्र भने होइन। सुलेमान र आयलाको जीवनसँगै फिल्मले त्यो बेलाको समाजको बलियो चित्रण गरेको छ। तत्कालीन घटनाहरूले पारेको प्रभाव देखाएको छ। समयसँगै बदलिएको विश्वको झल्को पनि दिएको छ।

‘आयलाः द डटर अफ वार’ युद्धबाट सुरू कथा भए पनि यसमा भरपुर प्रेम छ- साथीको, प्रेमीको, प्रेमिकाको, बाबुको, छोरीको। सबैको खाले प्रेमलाई यो फिल्मले अटाएर सुन्दर तरिकाले पस्केको छ।

युद्ध र प्रेमको भन्दैमा यो फिल्म भावुक मात्र छैन। निर्देशक क्यान उल्केले फिल्ममा कमेडीलाई थुप्रो स्थान दिएका छन्। त्यसैले गम्भीर विषयमा बनेको फिल्म हेर्दा पनि दर्शकलाई भरपुर मनोरञ्जन हुन्छ। ‘सिरियस’ फिल्म हेरेपछिको मानसिक चिन्तनभन्दा बढी आनन्द लाग्छ।

‘आयलाः द डटर अफ वार’ ले तपाईंलाई हँसाउँछ, रूवाउँछ पनि। यसको कथा सलल बगेको छ, अब के हुन्छ भनेर दर्शकलाई बाँधिराख्न निर्देशक सफल भएका छन्।

सन् २०१७ मा रिलिज यो फिल्म अस्करमा समेत पठाइएको थियो। छनोट भने भएन।

आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं। टर्किस र दक्षिण कोरियाली भाषामा भए पनि यसमा अंग्रेजी सबटाइटल छ।

साताकाे चर्चित
सम्बन्धित