अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्।
बोर्डका अध्यक्ष केसीविरुद्ध पढाइ नपुगेको भन्दै सर्वाेच्चमा मुद्दा परेको छ। शनिबार पत्रकार सम्मेलनमा बोल्दै अभिनेता खड्काले भुवन केसीको मुद्दाको पेसीअघि नै बोर्डबाट राजीनामा दिए राम्रो हुने बताएका हुन्।
‘मैले भुवन केसीको पढाइ पुगेन भन्ने सुनेको थिएँ। पढाइभन्दा पनि अनुभव ठूलो हो भन्ने लागिरहेको थियो। तर म आज भन्दै छु यो विवेकले त उहाँको सुनुवाइ हुनुभन्दा अगाडि नै राजीनामा दियो भने इज्जत बच्छ। यस्ता नीति नियम आउँदा पढाइको महत्व हुन्छ जस्तो लाग्छ,’ उनले भने।
अभिनेता खड्काले ‘प्रेमगीत ३’ लाई असफल बनाउन अध्यक्ष केसीले ११ बजेपछि हल बन्द गर्नु पर्ने नियम लागु गरेको बताए।
‘यो फिल्म ५ सय करोड, हजार करोडको मार्केटमा जाँदैछ भनेर सबै जना खुशी हुनुहुन्छ। यो सफलता चाख्ने समय हो। तर सन्तोष दाइलगायत हामी सबै जना निराश छौंं। भदौको ३० गते चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल बन्द हुनुपर्छ भन्ने विज्ञप्ती निकाल्यो। नेपालमा नियमको हिसाबले हेर्ने हो भने राती ४ बजेसम्म क्लब चलिरहेको हुन्छ। जहाँ मदिरापान भइरहेको हुन्छ। तर फोन पनि साइलेन्ट गरेर परिवारसहित फिल्म हेरिने हल ११ बजेपछि बन्द हुनुपर्छ भन्ने नियम लागेको छ,’ उनले भने।
उनले अगाडि भने, ‘प्रकाश फिल्म प्रदर्शनको सयममा पनि हामीलाई राम्रो शो दिइएको थिएन। त्यतिबेला धेरैले नबोल भनेका थिए। मलाई बोल्न मन पनि थिएन। तर हामीप्रति निरन्तर आक्रमण भइरहेको छ। राती ११ बजेपछि हल बन्द गर्नको लागि अन्तिम शो ८ बजे नै लगाउनु पर्ने हुन्छ। यसले गर्दा हलवालाहरूलाई पनि नोक्सान हुन्छ हामीलाई पनि। यसले फाइदा कसलाई भइरहेको छ। कहीँकतै यस्तो नियम बनाउनेको दिमाग नपुगेको हो कि।’
त्यस्तै उनले नेपाली फिल्मलाई हिन्दी फिल्म सरह कर लगाउनको लागि निर्माता संघले सार्वजनिक गरेको विज्ञप्तीप्रति पनि आक्रोश पोखेका छन्।
सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म असोज ७ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्ममा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।