बाजुरा,
दसैँ र तिहारलाई लक्षितगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताउनुभएको छ ।
उहाँका अनुसार जिल्ला सदरमुकाम मार्तडी र पूर्वी उत्तरी भेगका चार पालिकाका लागि कोल्टी डिपोबाट खाद्यान्न बिक्री थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले अरुवा मोटा चामल प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ६१ दरले मार्तडी र कोल्टीबाट बिक्री थालिएको कम्पनी प्रमुख ओझाले जानकारी दिनुभयो ।
चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्यअनुसार चामलमा प्रतिकिलो रु सात छुट दिएको शाखा प्रमुख ओझा बताउनुहुन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले एक हजार दुई सय क्विन्टल र कोल्टी डिपो शाखाका लागि एक हजार तीन सय क्विन्टल चामल बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।
दुई घरमा आगलागी हुँदा लाखौँको क्षति
जिल्लाको गौमुल गाउँपालिका– २ रनेडामा दुई घरमा आगलागी हँुदा पुर्णरुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गौमूल गाउँपालिका– २ रनेडाका स्थानीय नौले सार्कीको घरमा आगलागी हुँदा घरमा आगलागी हुँदा पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरीले कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।
आगलागीको क्षतिको विवरण सङ्कलन गरेर इलाका प्रहरी चौकी घटमुना फर्किएको प्रहरीले जनाएको छ । आगलागीपछि सार्कीको परिवार अरुको घरको साहारा लिएर बस्न बाध्य भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा पनि एक घरमा आगलागी भएको छ ।
सोही गाउँपालिका–१ जोरुमा स्थानीय विर्खबहादुर रावलको दुईतले खरले छाएको घरमा आगलागी हुँदा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा बालबालिका आगो खेल्ने क्रममा आगलागी भएको हो ।