हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, कार्यकारी निर्देशक घिसिङले भने ।
‘अब चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं ।’
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।
विद्युत निर्यातको परिणाम र प्राप्त रकम
महिना | निर्यात ऊर्जा (युनिट) | भारतीय रुपैयाँ | नेपाली रुपैयाँ | औसत दर प्रतियुनिट(नेपाली रुपैयाँ) |
जेठ | ७ करोड १६ लाख | ५५ करोड ९६ लाख | ८९करोड ५४ लाख | १२.५१ |
असार | २१ करोड ९१ लाख ६ हजार | १ अर्ब १६ करोड ७५ लाख | १ अर्ब ८६ करोड ८० लाख | ८.५३ |
साउन | २४ करोड २८ लाख ४३ हजार | १ अर्ब २६ करोड १५ लाख | २ अर्ब १ करोड ८४ लाख | ८.३१ |
भदौ | २४ करोड ६५ लाख २९ हजार | १ अर्ब ५१ करोड ५ लाख | २ अर्ब ४१ करोड ६८ लाख | ९.८० |
जम्मा | ७८ करोड ७८ हजार | ४ अर्ब ४९ करोड ९१ लाख | ७ अर्ब १९ करोड ८६ लाख | ९.२३ |
थप २१२.७ मेगावाट निर्यात प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२.७ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।
प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।
यसअघि प्राधिकरणले ४ जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।
निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।
यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।