काठमाडौं
काठमाडौंको गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।
घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो । गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ ।
तीमध्ये एकजनाले होटलमा कोठा लिएका थिए । स्रोतका अनुसार ती व्यक्ति भेट्न घटनामा संलग्न अन्य दुईजना नियमित जसो आउने गरेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी कपडा व्यवसायी सर्लाहीहरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या भएको थियो ।
गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको पाइएको पनि प्रहरीले जनाएको छ ।
लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै लाल मोहमदले एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका थिए ।
त्यो निवेदनबारे बिटले प्रहरी वृत्त बौद्धलाई जानकारी पनि गराएको थियो ।