पाकिस्तानमा मनाइयो नेपालको संविधान दिवस
पाकिस्तानमा मनाइयो नेपालको संविधान दिवस

नयाँ संविधानले संघीय शासन प्रणाली र लोकतान्त्रिक मूल्य मान्यताका साथै मानवअधिकार र मानवीय मर्यादाका सिद्धान्तहरूलाई समेटेको राजदूत अधिकारीले बताए।

    • Bell Sanchar

    • ५ आश्विन २०७९, बुधबार

नेपालको संविधान दिवसको अवसरमा पाकिस्तानमा विविध कार्यक्रम गरी मनाइएको छ।

इस्लामावादस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमममा पाकिस्तानका मन्त्री, राजनीतिक दलका नेता, व्यवसायी तथा उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले नेपालको इतिहासमा यो दिनको महत्व र नेपाल जस्तो विविधताले भरिएको देशमा राष्ट्रिय एकतामा यसको भूमिकाबारे प्रकाश पारेका थिए।

नयाँ संविधानले संघीय शासन प्रणाली र लोकतान्त्रिक मूल्य मान्यताका साथै मानवअधिकार र मानवीय मर्यादाका सिद्धान्तहरूलाई समेटेको राजदूत अधिकारीले बताए।

‘संविधान जारी भएको सात वर्षपछि नेपाली जनताको विकास र समृद्धिको लामो समयदेखिको आकांक्षा पूरा गर्न संविधानले राखेको जग थप मजबुत हुँदै गएको छ’, उनले भने।

नेपाल–पाकिस्तान सम्बन्धका बारेमा बोल्दै राजदूतले दुई देशबीच सौहार्दता, मित्रता र सहयोगको उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको बताए। उनले पारस्परिक लाभका लागि सम्भाव्यताअनुसार सम्बन्धलाई थप विस्तार र विविधीकरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राजदूत अधिकारीले पाकिस्तानमा हालै आएको मनसुनी बाढीबाट भएको क्षतिप्रति पाकिस्तान सरकार र जनताप्रति दुःख व्यक्त गर्दै यस्तो संकटको घडीमा नेपाल र पाकिस्तानले एकअर्कालाई सहयोग गर्ने गरी काम गरिरहेको बताए।

नेपालको प्राकृतिक र सांस्कृतिक आकर्षणलाई उजागर गर्दै राजदूत अधिकारीले पाकिस्तानी नागरिकलाई नेर्पालको नेपाल भ्रमण गर्न निम्तोसमेत दिए।

कार्यक्रममा बोल्दै पाकिस्तानका ऊर्जा मन्त्री खुर्रम दस्तगीर खानले पाकिस्तान सरकारको तर्फबाट नेपाललाई बधाई तथा शुभकामना दिएका थिए। उनले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाबारे पनि प्रकाश पारेका थिए।

कार्यक्रममा नवाबजादा शजैन बुग्ती, संघीय लागूऔषध नियन्त्रण मन्त्री, सांसदहरु, सिनेटर एच.ई. मुशाहिद हुसेन सैयद, अध्यक्ष सिनेट रक्षा समिति, पूर्व मन्त्रीहरू, पाकिस्तान सरकारका उच्च नागरिक र सैन्य अधिकारीहरूको उपस्थिति थियो।

यस्तै नेपालका लागि पाकिस्तानका पूर्व राजदूतहरू, कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, नेव्यवसायी र नेपाली समुदायका उपस्थिति थियो।

 

साताकाे चर्चित
सम्बन्धित