पर्यटनमन्त्री श्रेष्ठ ,दाङ एयरपोर्टमा ७२ सिटे प्लेन बस्नेगरि धावनमार्ग बिस्तार हुन्छ
पर्यटनमन्त्री श्रेष्ठ ,दाङ एयरपोर्टमा ७२ सिटे प्लेन बस्नेगरि धावनमार्ग बिस्तार हुन्छ

दाङ एयरपोर्टको स्तरोन्नती गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन तत्काल पहल हुने उनले बताए।

    • Bell Sanchar

    • ६ आश्विन २०७९, बिहीबार

संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले दाङ एयरपोर्टमा ७२ सिटे हवाज बस्न सक्नेगरि धावनमार्ग बिस्तार गरिने बताएका छन्।

बिहीबार दाङस्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले एयरपोर्ट बिस्तारका लागि राम्रै सम्भावना आफूले देखेको प्रतिक्रिया दिए।

दाङ एयरपोर्टको स्तरोन्नती गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन तत्काल पहल हुने उनले बताए।

निरीक्षणपछि केही सर्भे गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले दसैंपछि सर्भेका लागि प्राविधिक टोली खटाउले बाचा गरे।

‘अहिलेको रनवे बढाउन उपयुक्त लोकेसन कहाँ हुन्छ त्यसको सर्भे गर्न जरूरी देखियो,’ उनले भने, ‘मोटामोटी एक खालको सर्भे पहिल्यै गरिएको भए पनि अब डिटेल सर्भे गरी के कति कहाँको जग्गा आवश्यक पर्छ त्यो हेर्नुछ।’

एयरपोर्ट आसपासमा सार्वजनिक जग्गा र मुआब्जा दिनुपर्ने पर्ने जग्गाबारे डिटेलमा अध्ययन गर्न प्राविधिक खटाउने उनले जानकारी दिए।

दसैं लगतै सर्भेको काम सुरू हुने र त्यसपछि बजेट सुनिश्चितता गरि धावन मार्ग विस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए।

‘हामी दाङ एयरपोर्ट बनाउने भनेर सकारात्मक सोचका साथ केन्द्रबाट सोझै अवलोकनका लागि दाङ आएका हौं,’ उनले भने, ‘त्यसकारण यो एयरपोर्ट बन्नैपर्छ, अब हामी ७२ सिटे जहाज अवतरण गर्ने गरि धावनमार्ग बिस्तारमा लाग्नेछौं।’

तत्कालिन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा करिब एक महिना टरिगाउँ एयरपोर्ट बसेर प्राबिधिक टोलीले सर्भे गरेको थियो।

स्थलगत निरीक्षण भन्दा पहिले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले दाङ जिल्ला एसियाकै ठूलो भ्याली भएको हुँदा तिब्र सहरीकरण वा वस्ती विकासको अवस्थालाई नियालेर सरकारले पनि दाङ एयरपोर्ट विस्तारलाई प्राथमिकतामा राखेको बताएका थिए।

देशको साधन स्रोतलाई सबै ठाउँमा समानुपातिक रूपमा वितरण गरिने नीति अहिलेको सरकारले लिएको श्रेष्ठले तर्क गरे।

‘पहिलेको सरकारले जस्तो सबै बजेट एकै ठाउँमा झापामा मात्रै खन्याउनुपर्छ भन्ने सोच हाम्रो छैन,’ उनले अगाडि भने, ‘यहीँ ठाउँबाट जितेर मुख्यमन्त्री बनेका शंकर पोखरेलले दाङ एयरपोर्टको विकासका लागि केही नगरेको देख्दा आश्चर्य लाग्यो।’

‘२०१७ सालदेखि नियमित सञ्चालनमा आएको एयरपोर्टको स्तरवृद्धि नहुँदा तपाईँहरू निराश हुनु स्वभाविक हो,’ उनले भने,  ‘अब तपाईँहरू धेरै निराश हुनु पर्दैन। म काठमाडौं फर्केर आजै अर्थमन्त्रीलाई भेटी बजेटको सुनिश्चितता गराउँछु।’

कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैले सकारात्मक सोचका साथ अगाडि बढ्न जरूरी रहेको बताए।

‘२०११ सालमा बनेको एयरपोर्ट पछिल्लो समय झन खस्किदै जाँदा लज्जाबोध भइरहेको छ,’ उनले भने, ‘म काठमाडौं जाँदा आउँदा बाँके वा भैरहवाबाट यात्रा गर्नुपर्दा निकै पीडा बोध हुनेगर्छ।’

‘हामीले दाङका कस्ता नेता जन्माएका रहेछौं र हामी कस्ता नेता बन्यौं,’ उनले भने, ‘त्यति पुरानो एयरपोर्ट अहिले आउँदा झनै कमजोर अवस्थामा पुगेको छ। अब यो एयरपोर्ट कुनै पनि मानेमा बनाउन जरूरी छ।’

उनले पनि ७२ सिटे प्लेन बस्न सक्ने गरि टरिगाउँ एयपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैंसाको अभाव हुन नदिने बताएका थिए। चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

एयरपोर्ट भएकै क्षेत्र दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले  एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताए।

उनले आफू एयरपोर्टमा राजनीति गर्न नआएको र एयरपोर्टलाई भोट बैंक बनाउन नआएको स्पष्ट पारे।

‘मेरो सवालमा निर्वाचनमा उठ्ने/नउठ्ने अझैं पार्टीले निश्चित गरेको छैन,’ उनले भने, ‘मलाई एयरपोर्टको सेन्टीमेन्ट देखाएर भोट बटुल्न आयो भन्ने नठान्नु होला।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर तथा दाङ एयरपोर्ट सहयोग समितिकी संयोजक श्यानी चौधरीले राज्यको सहयोग पाए ३ महिना भित्रै आफैं खटेर एयरपोर्टको धावनमार्ग बिस्तार गरेर देखाइदिने बताइन्।

मेयर टीकाराम खड्का भने कार्यक्रममा उपस्थित थिएनन्।

पर्यटन मन्त्री श्रेष्ठ, सहरी विकास मन्त्री चौधरी, स्वास्थ्य राज्यमन्त्री केसी तीनै जना अहिले नेकपा एकीकृत समाजवादीमा आवद्ध छन्। उनीहरूले २०७४ सालको निर्वाचन भने नेकपा एमालेबाट जितेका थिए।

विमानस्थलको अवलोकनका लागि नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीसहितको टोली नेपालगन्ज हुँदै आएको हो।

साताकाे चर्चित
सम्बन्धित