कुखुरापालनबाटै राम्रो कमाइ   
     कुखुरापालनबाटै राम्रो कमाइ   

अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, गिरीले सुनाउनुभयो ।    

    • Bell Sanchar

    • १० आश्विन २०७९, सोमबार

सुन्दरहरैँचा, 
मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताउनुभयो ।

रु दुई करोड लगानीमा फार्म सञ्चालन गर्नुभएका गिरीले अहिले लेयर्स जातका कुखुरा पाल्नुभएको छ । “स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, गिरीले सुनाउनुभयो ।

बिबिएस पास गर्नुभएका उहाँ आयुर्वेदका ज्ञातासमेत हुनुहुन्छ । कृषिमा ठूलो सम्भावना देखेर रहरले सुनसरीको तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकोमा यसबाट आफू खुशी भएको उहाँले सुनाउनुभयो ।

फार्ममा दैनिक पाँच हजार अन्डा उत्पादन हुन्छ । अन्डा प्रतिगोटा रू ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गर्नुभयो । लेयर्सजातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ ।

कुखुराको सुली (मल) बाट समेत राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो । प्रतिबोरा रू तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाउनुभयो । दुई वटा ठूला ठूला कटेरोमा कुखुरा पालिएको छ । कुखुरापालनसँगै बाख्रासमेत पालेर उहाँले आफ्नो कृषि पेसा अगाडि बढाउनुभएको छ । उहाँले उन्नत बोयर जातका ५० भन्दा बढी बाख्रा पाल्नुभएको छ । “कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुछ”, उहाँ भन्नहुन्छ ।

कुुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उहाँले सुनाउनुभयो ।

सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिका लागि धेरै सम्भावना र अवसर भएको बताउनुभयो । उहाँले गिरीले गर्नुभएको कृषि कार्य उदाहरणीय भएको बताउनुभयो । “उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित