के हो डिफ्युजन नोटिस? अब के हुन्छ सन्दीपलाई?
के हो डिफ्युजन नोटिस? अब के हुन्छ सन्दीपलाई?
    • Bell Sanchar

    • ११ आश्विन २०७९, मंगलवार

नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले गत शुक्रबार ( असोज ७ गते) क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गर्याे । एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप सन्दीपलाई लागेको छ । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । भदौ ५ गते राति सन्दीपले आफूमाथि जबर्जस्ती करणी गरेको पीडितको दाबी छ ।

जिल्ला अदालत काठमाडौंले भदौ २३ गते सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई ‘पक्राउ अनुमति’ दिएको थियो । तर, अदालतबाट पक्राउ पुर्जी जारी भएको तीन सातासम्म सन्दीप पक्राउ परेका छैनन् । कारण सन्दीप नेपालमा छैनन् । उनी घटना भएको भोलिपल्टै (भदौ ६ गते) क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । उनी जमैकामा हुँदा जर्बजस्ती करणीको उजुरी परेको हो ।

उजुरी परेको समाचार सार्वजनिक भएपछि उनले सीपीएल खेल्न पाएनन् । सन्दीपले भदौ २४ गते सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको बताए । उनले नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने समेत दाबी गरे । तर, उनी नेपाल फर्केनन् । सन्दीप सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले सन्दीपलाई खोजेर नेपाल पठाइदिन आग्रह गर्दै पत्राचार गरेपछि इन्टरपोलले असोज ७ गते सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

के हो डिफ्युजन नोटिस?
डिफ्युजन नोटिस प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले जारी गर्ने गर्दछ । कुनै एक देशको प्रहरीबाट जारी भएको नोटिसमा सदस्य राष्ट्रका प्रहरीले एकसाथ मिलेर खोजी गर्छन् । इन्टरपोलमा हाल १९५ देश सदस्य छन् । डिफ्युजन नोटिस जारीपछि इन्टरपोल सदस्य राष्ट्रका प्रहरीले सन्दीपको खोजी गर्नेछन् । र, उनलाई पक्राउ गरेर नेपाल पठाउन सहयोग गर्नेछन् ।

अदालतबाट वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि जारी गरिने परिपत्रलाई डिफ्युजन नोटिस भनिने प्रहरी अधिकारीहरू बताउँछन् ।

यसका अलावा इन्टरपोलले रेड नोटिस, ब्लु नोटिस, ग्रीन नोटिस, ब्ल्याक नोटिस, एल्लो नोटिस, ओरेन्ज नोटिस र पर्पल नोटिस गरी ७ वटा नोटिस जारी गर्छ । वारेन्ट जारी भएका फरार अभियुक्तहरू खोजका लागि ‘रेड नोटिस’ जारी गर्ने गरिन्छ ।

अदालतबाट कम्तिमा छ महिना वा सो भन्दा बढी कैद सजाय फैसला भएका फरार प्रतिवादीहरूको सम्बन्धमा र अदालतबाट २ वर्ष वा सो भन्दा बढी कैद सजाय हुन सक्ने अवस्था रही वारेन्ट जारी भएका तर फैसला हुन बाँकी फरार प्रतिवादीहरूको सम्बन्धमा रेड नोटिस जारी हुने नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

शाखाका अनुसार अपराधीहरूको पूर्व आपराधिक गतिविधिबारे जानकारी प्राप्त गर्न ‘ब्लु नोटिस’, कुनै एक स्थानमा एकपटक अपराध गरी अन्य स्थानमा त्यस्तै प्रकृतिका अपराध दोहोर्‍याउन सक्ने खतरनाक अपराधीका बारेमा पूर्वजानकारी गराउन चेतावनीमूलक ‘ग्रीन नोटिस’, सनाखत नभएका मृत मानव लासको पहिचानको लागि ‘ब्ल्याक नोटिस’, हराएको व्यक्तिको अन्तर्राष्ट्रिय स्तरमा खोजी कार्यका लागि ‘एल्लो नोटिस’, लुकाएका हतियार, विस्फोटक पदार्थ तथा खतराजन्य वस्तुबाट हुन सक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ‘ओरेन्ज नोटिस’ र अपराधीले अपराध गर्न प्रयोग गरेका चिजवस्तु तथा त्यस्ता वस्तु लुकाएको स्थान तथा आपराधिक गतिविधिको बारेमा जानकारी गराउन ‘पर्पल नोटिस’ जारी गर्ने गरिन्छ ।

‘नेपालमा अपराध गरेर विदेश भागेका अपराधीहरूलाई प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् रेड कर्नर नोटिस र डिफ्युजन नोटिसमार्फत् खोजी कार्य जारी नै राखेका छौं’, नेपाल प्रहरीको इन्टरपोल शाखाका एक अधिकृत भन्छन् । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्ध समेत डिफ्युजन नोटिस जारी भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित