अझै रोकिएन बालविवाह  
अझै रोकिएन बालविवाह  
    • Bell Sanchar

    • १४ आश्विन २०७९, शुक्रबार

रामेछाप, १४ असोज    
नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन । विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ ।

अभिभावकको सहमतिमा १८ वर्ष र अभिभावकको सहमतिविना २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा बालविवाह मानिन्छ । कानूनले विवाहका लागि उमेर हद तोके पनि रामेछापको दोरम्बा गाउँपालिका–१ को थामी समुदायमा १३/१४ वर्षकै उमेरमा विवाह गर्ने चलन छ । थामी समुदायका बालबालिकाले माध्यमिक तहसम्मको शिक्षा पनि प्राप्त गर्न सकेका छैनन् । त्यसैले उनीहरुको चेतनास्तरमाथि उठ्न सकेको छैन ।

आफ्नो निर्णय गर्न सक्ने क्षमता र बालविवाह गर्दा हुने बेफाइदाका बारेमा आफ्ना अभिभावकलाई बुझाउन नसक्दा उनीहरूमा बुबाआमाले भनेको मान्नैपर्ने बाध्यकारी अवस्था छ ।

मुस्किलले प्राथमिक तहसम्मको अध्ययन गर्ने गरेका सो समुदायका बालबालिकाको सानै उमेरमा विवाह भएपछि विद्यालय छाड्ने दर पनि बढ्दै गएको छ । विवाहपछि अभिभावकले विद्यालय नपठाउने र काममा खटाउने गरेको स्थानीय डिकबहादुर थामी बताउनुहुन्छ । थामी समुदायमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित