दाङमा प्रतिनिधिसभा सदस्य पदका लागि ४४ र प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ ४६ जनाको उम्मेदवारी परेको छ।तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल ९० जनाको उम्मेदवारी परेको छ।
तीन सिटमा ४४ जना र प्रदेशतर्फको ६ सिटमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रमुख दलबाहेक १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रबाट प्रतिनिधि सभामा १० र प्रदेश सभाका लागि सात जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नं. १ मा २७ जनाको उम्मेदवारी
दाङको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाका एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, प्रदेशतर्फ १ (क) मा नौ जना, १ (ख) मा छ जनाको उम्मेदवारी परेको छ।
दाङ क्षेत्र नं. १ मा सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी र नेकपा एमालेबाट शान्ता चौधरीको उम्मेदवारी परेको छ। उनीहरूलाई प्रमुख प्रतिस्पर्धी मानिएको छ।
प्रदेश सभातर्फ १ (क) मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारु र नेकपा एमालेबाट गंगाराम भट्टराईको उम्मेदवारी परेको छ। उनीहरूलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
यो निर्वाचन क्षेत्रमा उनीहरू बाहेक जनता समाजवादी पार्टीका जगतराम यादव, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका खुमबहादुर गाहा मगर, हाम्रो नेपाली पार्टीका टंकबहादुर विष्ट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दामोदर चौधरी, राष्ट्रिय जनमोर्चाका महेशचन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मानबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रञ्जित चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, क्षेत्र नं. १ (ख) मा नेपाली कांग्रेसबाट अनुराग खड्का र नेकपा एमालेबाट कुलबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन्।
२८ वर्षीय खड्का स्वर्गीय नेता खुमबहादुर खड्का एक्ला छोरा हुन् भने खत्री लमही नगरपालिकाका पूर्व मेयर हुन्। उनीहरूका बीचमा मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
यीबाहेक यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरखबहादुर केसी, मंगोल नेसनल अर्गनाइजेसनका टिकलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजकुमार विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नं. २ मा २८ जनाको उम्मेदवारी
निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २(क) मा १ स्वतन्त्रसहित आठ र २ (ख) मा पाँच जनाको उम्मेदवारी परेको हो।
यहाँ सत्ता पक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री रेखा शर्मा खड्का र नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ उनीहरूका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यीबाहेक नेपाली कांग्रेस बिपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, नेमकिपाका आशाराम वैद्य, मंगोल नेसनल अर्गनाइजेसनका खड्कबहादुर बुढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यहाँ प्रतिनिधि सभा सदस्य पदका लागि कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रदेशसभातर्फ २ (क) मा एक स्वतन्त्र उम्मेदवारसहित आठ जनाको उम्मेदवारी परेको छ।
गठबन्धन दलबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पूर्व-सांसद राजु खनाल र नेकपा एमालेबाट लुम्बिनी प्रदेशका यसअघिका निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र रानाका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यही बाहेक राप्रपाका गोपालबहादुर बेलबासे, मौलिक जरोकिलो पार्टीका निमबहादुर विक, नेपाल आमा पार्टीका वेगम पाण्डे, नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद थारु र स्वतन्त्रबाट रेशमबहादुर चौधरीको उम्मेदवारी परेको छ।
निर्वाचन क्षेत्र नं. २ (ख) मा प्रदेश सभाका लागि पाँच जनाको उम्मेदवारी परेको छ।
गठबन्धन दलबाट नेपाली कांग्रेसका युवा नेता प्रचण्ड विक्रम न्यौपाने र नेकपा एमाले दाङका पुराना नेता गिरिराज केसीले उम्मेदवारी दिएका छन्। उनीहरूलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
उनीहरूबाहेक राप्रपाका उमाकान्त भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनका राजबहादुर घर्ती मगर र नागरिक उन्मुक्ति पार्टीका ओमप्रकाश चौधरीले उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. ३ मा ३५ जनाको उम्मेदवारी
निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभामा छ स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन्। प्रदेश सभातर्फ ३ (क) मा दुई स्वतन्त्रसहित नौ र ३ (ख) मा चार स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी परेको छ।
यहाँ प्रतिनिधिसभा सदस्य पदका लागि गठबन्धन दलबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरि र नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरूका बीचमा मुख्य प्रतिस्पर्धी हुने आकलन गरिएको छ।
उनीहरूबाहेक राप्रपाका ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णवीर नेपाली, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगोल नेसनल अर्गनाइजेसनका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीका रणेन्द्रविक्रम केसी, नेपाल मजदुर किसान पार्टीका वीरबहादुर चौधरी र नेकपा मालेका शालिकराम चौधरीको उम्मेदवारी परेको छ।
यीबाहेक स्वतन्त्र रूपमा हेमन्तबहादुर मल्ल, लिलाधर न्यौपाने, भूपबहादुर भण्डारी, तिलक खड्का, टोपेन्द्र बस्नेत र घनश्याम डाँगीले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेशसभातर्फ ३ (क) गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व-मेयर घनश्याम पाण्डेले उम्मेदवारी दिएका छन्।
यी दुबै उम्मेदवारले आफूलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रूपमा प्रस्ततु गरेका छन्। मुख्य प्रतिस्पर्धा उनीहरूकै बीचमा हुने अनुमान गरिएको छ।
उनीहरूबाहेक राप्रपाका हंशराज केसी, नेपाल लोकतान्त्रिक पार्टीका सागर विक, लोकतान्त्रिक समाजवादी पार्टीका वासुदेव रेग्मी, मंगोल नेसनल अर्गनाइजेसनका ज्ञानबहादुर पुन र राष्ट्रिय जनमुक्ति पार्टीका चहरमान थारुले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र रूपमा माइते चौधरी र सुमन बस्यालले उम्मेदवारी दर्ता गरेका छन्।
३ (ख) मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्के र नेकपा एमालेका हुकुमबहादुर बस्नेतले उम्मेदवारी दिएका छन्।
मास्के माओवादीका पूर्व-डिभिजन कमाण्डर हुन् भने बस्नेत एमालेका जिल्ला अध्यक्ष।
यी दुईकै बीचमा मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यीबाहेक यहाँ राप्रपाका भुपाल रावत, लोकतान्त्रिक समाजवादी पार्टीका राजन डाँगी र मंगोल नेसनल अर्गनाइजेसनका सुशील चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र रूपमा भुपबहादुर विक, दुर्गाबहादुर ओली, गणेशबहादुर बस्नेत र अमृताकुमारी बस्नेतले उम्मेदवारी दिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि जिल्लाका तीन निर्वाचन क्षेत्रमा आइतबार कुल ९० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जानकारी दिएको छ।