बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे अवलोकन गरी रिपोर्ट पेस गर्न निर्देशन
बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे अवलोकन गरी रिपोर्ट पेस गर्न निर्देशन

बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो। 

    • बेल संचार

    • २७ आश्विन २०७९, बिहीबार

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

बुधबार दिउँसो गृह मन्त्रालयमा बसेको बैठकमा केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्‍याएको क्षति र आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल भएको छ।

बैठकमा गृहमन्त्री खाणले हुम्ला, जुम्ला, मुगु र कालीकोटमा बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए।

त्यस टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेवारी दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

सरकारले तत्कालका लागि उपलब्ध गराउनु पर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालीन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बताए।

बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो।

त्यस्तै, बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए। ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखहरूले आग्रह गरेका थिए।

कहाँ, कहाँ के सुरक्षा चुनौती छन् र ती चुनौतीलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने प्रस्ता बैठकमा गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो।

बैठकमा गृहमन्त्री खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।

मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला-जिल्लामा पठाएको छ। त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन्।

गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याएर समाधान गरेर अगाडि बढ्ने रणनीतिसाथ अगाडि बढ्न सुरक्षा निकायलाई निर्देशन दिए।

 

साताकाे चर्चित
सम्बन्धित